५ जेष्ठ २०८१, शनिबार

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

khotang 1jpg

जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्धवृद्धाको बिभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्र्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो ।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोलीले अभियुक्त राईलाई भदौ २० गते पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिकाको वडा नम्बर–२ बोपुङ पुगेका अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रनाउ चिमरियाले बताउनुभयो । “अभियुक्त राई दिनभर मृतक श्रेष्ठ दाजुबहिनीको घरमा खेतीपातीको काम सघाउन गएका रहेछन्”, उहाँले भन्नुभयो, “बनीबुतो गरेर जीवन निर्वाह गर्दै आएका उनले श्रेष्ठ दाजुबहिनीसँग पैसा सापटी मागेको रहेछ । काम सकाएर घर गएका राई दुई पटकसम्म श्रेष्ठ दाजुबहिनीको घरमा पैसा माग्न गएको बुझिएको छ । पटकपटक उनीहरुको घर गएर माग्दा पनि नदिएपछि आफ्नो घर फर्किएका उनले मादक पदार्थ सेवन गरेर पुनः राति १२ बजे उनीहरुको घरैमा गएर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।”

आफ्नै घरबाट खुकुरी बोकेर गएका अभियुक्त राईले दाजु ईन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई समेत सोही खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । पक्राउ परेका अभियुक्त राईको साथबाट रु एक हजार १७० नगदका साथै मृतक गोपीमायाको थैली र हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

khotang

मृतक दाजुबहिनीको घर अन्य गाउँभन्दा एकान्तमा भएकाले घटनाको बारेमा तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो । “अविवाहित रहेका दाजु ईन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केहि समय अगाडिदेखि माइती घरमै बसेकी रहिछन्”, उहाँले भन्नुभयो, “उदयपुरको रामपुर घर भएका मृतक गोपीमायासँगै दाजु ईन्द्रबहादुरको शवसमेत दाहसँस्कारका लागि उतै पठाइएको छ ।”

यसअघिसम्म स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका ईन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । मृतक दाजुबहिनीको शव उदयपुरको गाईघाटस्थित स्वास्थ्य संस्थामा परीक्षण गरेर नेवारी सँस्कार अनुसार अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच, दश स्थानीय तह रहेको खोटाङ जिल्लामा गत असार–१ गतेदेखि हालसम्म चार जनाको हत्या भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका ५५ वर्षीय जबरधन राईको गत साउन २२ गते र यहि भदौ ११ गते ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १२ वर्षीय शैलेन्द्र तामाङको हत्या भएको हो ।

फेदीका राईको आफ्नै भतिज राकेश राईले दाउरा प्रहार गरेर र तामाङको स्थानीय २३ वर्षीय मनकाजी तामाङले भरुवा बन्दुले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । चारैवटा घटनाका हत्यारालाई पक्राउ गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।