११ बैशाख २०८१, मंगलवार

मृगौला पिडितका पिडाले रुवाउँछ समाज

kidney patient dhakal

अन्तर्मुखी स्वभावका दत्तप्रसाद ढकाल मृगौला पिडित भएको ५ बर्ष भयो । दैलेख जिल्लाको नौमूले गाउँपालिका वडा नं. १ का वासिन्दा ढकाल स्वभावकै कारण आफ्नो लागी सहयोग जुटाउन सकेनन । सामान्य परिवारका उनमा मृगौलाको समस्या देखिएपछी मृगौलाको प्रत्यारोपण सम्मेत गर्नुपर्ने जटिल परिस्थीती बन्यो।

आफ्नै पौरखमा रमाउने दत्तप्रसाद अरुसँग सहयोग नमागी ५ वर्ष लडिनै रहे । ३७ वर्ष हुँदा उनको मृगौलामा देखिएको थियो ।

उनी उपचारकोलागी काठमाण्डौँ मात्र नभई भारतको लखनउ लगायतका ठुला अस्पतालमा समेत उपचारका लागी पुगे । मृगौँला प्रत्यारोपण नै अन्तिम विकल्प देखेर प्रयास गर्दा पनि भाग्यले साथ दिएन । आफ्नै बुवा दाताको रुपमा पाए पनि उनको इच्छा पुरा भएन । भक्कानिदै उनले बुवाको मृगौला शरीरमा मेल नखाए पछी को अवस्था सुनाए । बुवाको मृगौला मेल नभएपछी उनले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा श्रीमतिको मृगौला प्रत्यारोपण गरे ।

मृगौला प्रत्यारोपण गर्दा राहत शिक्षक भएर कमाएको सबै पैसा सकिएको र आफन्तहरुले सहयोगले यहाँ सम्म आइपुगेको बताउँछन ढकाल ।

बहिनीको पनि मृगौला प्रत्यारोपण

उनको परिवारमा एक समस्या थियो नै फेरी केही बर्ष पछी अर्को समस्या थपियो । उनको २३ बर्षिया बहिनी नविना ढकाललाई पनि मृगौलाको समस्या देखियो । उनले बहिनीको उपचारका लागि टन्नै पैसा खर्च गरिसकेका छन् । यसपटक भने बहिनीलाई बुबाको मृगौला प्रत्यारोपण गर्न मिल्यो। टिचिङ्ग अस्पतालबाट उनको मृगौला प्रत्यारोपण गरिएको थियो । अब घरमा मृगौला दिने र लिने गरी ४ जनानै समस्यामा छन । दुई भाइ वहिनीको उपचार गर्दा करीब ७० लाख सम्म खर्च भए पछि उनि चरम आर्थिक अभावमा छन् ।

मृगौला प्रत्यारोपणपछी आफ्नो र वहिनीको समेत मासिक औषधी खर्च मात्र ३५ हजार हुने गरेको बताउँछन् ढकाल।

ढकाल परिवारलाई दक्षिण कोरियाबाट दुई लाख ९० हजार सहयोग

नेपालबाट दक्षिण कोरीयामा कार्यरत श्रमिकहरुले पिडित ढकालका घाउमा मलम लगाउँदै २ लाख ९० हजार आर्थिक सहयोग गरेका छन् । विदेशिएका सहयोगी हातहरु बखत थापा, राकेश खनाल र महेश महताराको अगुवाइमा आफुले कमाएको केही रकम सहयोग गरेका हुन् । १२८ जना मिलेर पठाएको रकम आइतबार लायन्स क्लब दैलेखका कोषाध्य अभिषेक अनुरागले ढकाललाई हस्तान्तरण गरे ।

हस्तान्तरण रकम बुझ्दै दत्तप्रसाद ढकालले सहयोगी मनहरुलाई धन्यवाद दिदै “म मात्र होइन मृगौला पिडितका दुख् मेरो भन्दा पनि धेरै रहेको, उनीहरुको पिडाले समाज रोइरहेको बेला आफुलाई सहयोग गर्नु भएका प्रती आभार ब्यक्ता गर्दछु । यहाँहरुले पठाएको रकमले एक बर्ष सम्म खाने औषधि पुग्ने छ” भने । उनले उक्त कार्यक्रममा “यस्ता जटिल रोगहरुको सरकारले निशुल्क औषधिको ब्यवस्था गर्नसके मात्र ढुक्कले बाँच्न सकिने” भने ।

उनको घरमा उनीसंगै अहिले ७० बर्षिय बुबा, बहिनी, श्रीमती र २ छोराछोरी छन् ।