७ बैशाख २०८१, शुक्रबार

चितवनमा एक सङ्क्रमितको निधन

chitwan corona death
फाइल फोटो

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उहाँको ८ बजे मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रभावकारी बनाउँदै भरतपुर अस्पताल

यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो ।

हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ ।

यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सो प्रयोजनका लागि रु तीन करोड बजेट पठाएको छ ।

अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । तिवारीले भन्नुभयो, “हामी महावीर पुनको स्वास्थ्य आविष्कार केन्द्रमा बिग्रिएका दुई भेन्टिलेटर पनि पठाउँदैछौँ ।” ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।” अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये छ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।

अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शय्या नपाउने समस्या बढेपछि अस्पतालमा छ शय्याको सघन उपचार कक्षसहितको १७५ शय्या आइसोलेसन पुर्याइएको हो ।

उहाँका अनुसार थप भएका आइसोलेसन शय्यामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शङ्कास्पद देखिएकालाई ३५ रहने गरी आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधीन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइँदै छ । यसमा ४८ शय्या हुनेछ ।

अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै बाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । गम्भीर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भइसकेको छ ।

अस्पतालले एकीकृत आकस्मिक सेवालाई निरन्तरता दिँदै आइरहेको छ । यसअघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै चार शय्या तयार पारिएको छ । ती शय्यामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । सङ्क्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधैँ तत्पर छ ।”

अस्पतालकका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हालसम्म अस्पतालले २४७ सङ्क्रमितको उपचार गरेको छ । तीमध्ये ७४ अहिले पनि अस्पतालमा उपचाररत रहेको उहाँले जनाकारी दिनुभयो । सङ्क्रमितमध्ये नौ जनाको अस्पतालमा मृत्यु भएको छ । चौध जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ ।

भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालाले हालसम्म २१ हजारभन्दा बढी नमूना परीक्षण गरिसकेको छ । चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका नमूना प्रयोगशालामा परीक्षण हँुदै आएको पौडेलले जानकारी दिनुभयो । गत महिनासम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो ।