६ बैशाख २०८१, बिहीबार

चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

tharu festival chitwan

थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ ।

यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ । समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ ।

शनिवार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताउनुभयो । ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको चौधरीले जानकारी दिनुभयो ।

“कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ”, उहाँले भन्नुभयो । चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्वका साथ मनाउँछन् । हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ ।

यो वर्ष भिडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन ।

यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पाहुर) पुर्याउने चलन पनि छ । कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ ।

कार्यविधिमा भिडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताउनुभयो । “हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भई मनाउन आग्रह गरेको उहाँले बताउनुभयो ।

थारु समुदायले दिवङ्गत पितृको सम्झनामा सोह्रश्राद्धको अन्तिम दिन ‘एमोसा’ (पितृ औँसी) मनाउँछन् । यसमा समूह बनाई एकअर्काको घरमा खाना खाने प्रचलन छ । यो पटक त्यो पनि नगर्न भनिएको छ । दसैँ अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सीमित हुन सभाले कार्यविधि बनाएको छ । सामूहिकरूपमा भेला भएर मनाइने छठ, बड्का एकादशी (ठुलो एकादशी) मा पनि यस्तै अनुरोध छ । नयाँ वर्षको रूपमा मनाउँदै आएको माघे सङ्क्रान्तिको खिचरामा मेला महोत्सवसमेत आयोजना नगर्न भनिएको चौधरीले बताउनुभयो ।

फागु र चैतनवमीमा पनि सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरु नगर्न कार्यविधिले जोड दिएको उहाँले बताउनुभयो । “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर अहिले ‘अड्कोपड्को तेलको धूप’ भने झैँ रीत मात्र पूरा हुनेगरी चाडपर्व मनाऔँ”, थाकसको अपिल छ ।

चैते दसैँका बेलामा चितवनको थारु बहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन विक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला लाग्ने गर्दछ तर कोरोनाका कारण यो वर्ष कार्यविधिमार्फत मेला महोत्सव नगर्ने भनिएको छ । थारु समुदाय चितवनका मुख्य आदिवासी हुन् ।