४ बैशाख २०८१, मंगलवार

कोरोनाः प्रदेश नं १ मा १४५ सङ्क्रमित थप र ९५ हजारको परीक्षण

corona testkit scaled

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा १४५ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा दुई हजार ११६ जनाको पिसिआर परीक्षण गरिएकामा ५३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा यो अहिलेसम्मकै उच्च सङ्क्रमित सङ्ख्या हो ।

सङ्क्रमितमध्ये मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा चार, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ६० जनाको पोजेटिभ रिपोर्ट आएकामध्ये २५ महिला र ३५ पुरुष छन् । मोरङको बूढीगङ्गाका दुई महिला र चार पुरुष, लेटाङकाम दुई महिला, सुनवर्षी र ग्रामथानका एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरी दुहवीका सात महिला र छ पुरुष, इटहरीका एक महिला र नौ पुरुष, धरानका एक महिला र दुई पुरुष, इनरुवाका दुई पुरुष, गढीका एकएकमहिला र पुरुष, बर्जुका एकएक महिला र पुरुष, बराहक्षेत्रका एक पुरुष र कोशी गाउँपालिकाका एक महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कनकाईका तीन महिला र आठ पुरुष, दमकका तीन महिला र दुई पुरुष, मेचीनगरका चार पुरुष, भद्रपुर र झापा गाउँपालिकाका तीनतीन र कचनकवल र गौरीगञ्जका एकएक पुरुष, ओखलढुङ्गाको मानेभञ्ज्याङका दुईदुई महिला र पुरुष, भोजपुरका एक पुरुष, उदयपुर, त्रियुगाका एक पुरुष, सोलुखुम्बु र खोटाङको स्थानीय तह नखुलेका एकएक पुरुष तथा प्रदेश बाहिरका एक महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म तीन हजार ८२५ पुगेको तथा आज ७२ सङ्क्रमित निको भई घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड –१९ आइसोलेशन केन्द्र, गोठगाउँ मोरङबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड –१९ आइसोलेसशन केन्द्र, रङ्गेली मोरङबाट ११, होटल एशियाटिक आइसोलेशन विराटनगरबाट सात, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, बी जनरल अस्पताल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट एक सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा निको हुने सङक्रमितको सङ्ख्या अहिलेसम्म एक हजार ८१९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ९५ हजार ४५९ जनाको पिसिआर परीक्षण गरिएको छ ।