७ बैशाख २०८१, शुक्रबार

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के गर्न पाइदैँन ?

lockdown 11

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तीनवटै जिल्लामा एक हप्ता थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।

भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कामको सूची समेत एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

विज्ञप्तिमा बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि भदौ १० देखि १७ सम्म थप गरिएको थियो । तेस्रो पटक फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

हेर्नुहोस् काठमाडौं जिल्लाको निषेधाज्ञाको आदेश, अन्य काम के गर्न पाइन्छ, के पाइँदैन ? तलको तालिका हेर्नुहोस्ः

1
2
3
4