७ बैशाख २०८१, शुक्रबार

बिपदमा परेका ७१ जना अझै बेखबर

sindhupalchok badhi 8

यसपालिको मनसुनजन्य बिपदमा परेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरुको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अधिकांश पहिरामा परेर बेपत्ता भएका छन् ।

वैशाखयता विपद्जन्य घटनामा परेर ३१७ जनाको मृत्यु र ७१ जना बेपत्ता भएका छन् । उक्त घटनामा ३८८ जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

कूल मृत्यु भएकामध्ये पहिरामा मात्रै २४५ जना परेका छन् । पहिरामा परेर ५१ जना बेपत्ता छन् भने १९० घाइते भए । बाढीबाट १७ को मृत्यु, २० बेपत्ता र सात घाइते भए । चट्याङबाट ५५ को मृत्यु र १९१ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार मनसुन शुरु भएपछि गत जेठ ३० पछि भने २८२ को मृत्यु, ७० बेपत्ता र २६६ जना घाइते भएका छन् ।

त्यही बीचमा नै सबैभन्दा बढी पहिराका घटनाले बढी मानवीय क्षति पुर्‍याएको छ । पहिरोमा मात्रै जेठ ३० एता २४३ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन् । सोही अवधिमा बाढीबाट १४ को मृत्यु भएको र १९ बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमर १८ वटा विपद्जन्य घटना भएको छ । विभिन्न १० स्थानमा चट्याङ, तीन स्थानमा जनावरको आक्रमण, दुई स्थानमा पहिरो र एक स्थानमा बाढी आएको छ जसमा परेर दुईको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आज बिहान मुलुकका १८५ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ५३ र स्वचालित १३२) मा मापन गरिएको वर्षाको विवरणअनुसार १२० वटा केन्द्रमा वर्षा भएको छ ।

उक्त केन्द्रमध्ये सबैभन्दा बढी ८६ मिलिमिटर वर्षा बाग्लुङको गल्कोट केन्द्रमा मापन गरिएको छ । मापन भएका केन्द्रमध्ये चार वटामा ५० मिलिमिटरभन्दा बढी र १२ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकका अधिकांश क्षेत्रमा मौसम बदली छ । ठाउँठाउँमा सामान्य र मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।