७ बैशाख २०८१, शुक्रबार

नयाँ सङ्क्रमण र निको हुने उत्तिकै

corona 1

विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । आज एक हजार ११२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण देखिएको जानकारी दिनुभयो । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । मङ्गलबार एक हजार ६९ जना सङ्क्रमित भएका थिए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा एक हजार ११२ जना निको भएर घर फर्किएको जानकारी दिनुभयो । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । निको ५६ प्रतिशत हो । मङ्गलबार ७६८ जना निको भएका थिए । प्रदेश–१ मा एक हजार ७८७ जना, प्रदेश नंं २ मा ६ हजार ३४, वाग्मती एक हजार ५६९, गण्डकी प्रदेशमा एक हजार ७०९, प्रदेश नंं ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार १३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९८८ जना रहेका छन् । उहाँले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुभयो । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडाँै, ललितपुर र रुपन्देही रहेका छन् ।

सात जिल्ला सङ्क्रमण मुक्त

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पाँच जिल्ला सङ्क्रमण मुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताग, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् । यस्तै उहाँले सङ्क्रमित देखिएकामध्ये १४४ जना सघन कक्षमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिनुभयो ।

प्रदेश नंं १ मा सात, प्रदेश नंं २ मा ३०, वाग्मती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा २० जना सघन कक्षमा उपचाररत छन् भने प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा १० हजार ४९३ र होम आइसोसनमा ७ हजार ६१५ जना रहेका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार १०८ जना र क्यारन्टिनमा छ हजार ७६६ जना छन् ।

उपत्यकामा ३८८ नयाँ सङ्क्रमित

उपत्यकामा ३८८ जना सङ्क्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा नौ र ललितपुरमा २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बाह्रको निधन

कोरोना भाइरसको कारणले एकै दिन १२ जनाको आज निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ महिला र ६ पुरुषको सङ्क्रमणको कारणले निधन भएको जानकारी दिनुभयो ।

मङ्गलबार ११ जना सङ्क्रमणबाट निधन भएका थिए । सङ्क्रमणबाट निधन हुनेमा चितवनका ५५ रु १८, काठमाडौँका ८९, ललितपुरका ७०, तनँहुका २० र कपिलवस्तुका ६० वर्षीया महिला रहेका छन् । यस्तै बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौँका ७० र ७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् । आजसहित सङ्क्रमणको कारणले निधन हुनेको सङ्ख्या २५१ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने सङ्क्रमितमध्ये ०.६ प्रतिशत हो ।