७ बैशाख २०८१, शुक्रबार

कोरोनाविरुद्धको भ्याक्सिनलाई हतारमा मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी

covid 19 vaccine

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ ।

डब्ल्यूएचओले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो ।

संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् ।

वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । उनले भनिन, ‘सबै देशहरुले ट्रायल पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने काम होइन ।’

डब्ल्यूएचओका अनुसार हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् ।

यसका साथै डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।