१२ बैशाख २०८१, बुधबार

४८ दिनदेखि बाटो अवरुद्ध

pahiro

असार २९ गते र त्यसपछि परेको वर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुकका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । पहिरो गएको ४८ दिन बितिसक्दा पनि पहिरो नहटाउँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।

बन्दीपुर गाउँपालिकादेखि मुच्चुक–रामकोट हुँदै छाब्दीवाराही जोड्ने मोटरमार्ग ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी एवं नेपाली काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

“पहिराले विभिन्न भागमा ठूला ठूला ढुङ्गा खसेका छन्, जसले गर्दा हिँड्न पनि जोखिम छ ।,” उहाँले भन्नुभयो, “तत्काल पहिरा हटाएर बाटो पुनः सञ्चालन गराउन गाउँपालिकालाई अनुरोध गरिएको छ ।” स्थानीय रामबहादुर गुरुङका अनुसार पहिराले बाटो अवरुद्ध भएपछि गाउँमा उत्पादित कृषि सामग्री बन्दीपुर लगेर विक्री गर्न समस्या भएको जानकारी दिनुभयो । बाटो खराब भएकै कारण केही दिन अगाडि बन्दीपुर गाउँपालिका–३ रामकोटका एक बालकलाई बिरामी भएपछि दमौली लैजानुपरेको उहाँले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले वर्षा हुने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या परेको जानकारी दिनुभयो । “पहिरा हटाएर बाटो खुलाउन प्रयास गरिएको हो, तर पानी परेर पुन ढुङ्गा खसेर समस्या हुने भएपछि तत्कालका लागि उक्त काम रोकिएको छ”, थापाले भन्नुभया ।