६ जेष्ठ २०८१, आईतवार

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

food bank hunele diyera jaou

कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ ।

ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो । स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाइ छ । “भएकाले एक पोका, दुई पोका जति दिएर गए पनि हुन्छ, नभएकाले झिकेर लान सक्नेछन्”, उहाँले भन्नुभयो, “सङ्कटमा बाँडीचँुडी खानुपर्ने भावना पैदासमेत अभियानले गराउने आशा राखिएको छ ।”

अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ ले मोबाइल फुड बैंकमार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिनुभयो । राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकताअनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ ।

अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिने र प्राप्त सहयोगअनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । क्लबले शुरु गरेको अभियानमा स्वतःस्फूर्त सहयोग प्राप्त हुनसमेत थालिसकेको छ । अभियान यहाँका बजारका मुख्य चोकमा सञ्चालन गरिनेछ ।