१५ चैत्र २०८०, बिहीबार

प्रचण्डका घरबेटीसँग गगन थापाको शुरु भयो वारपारको लडाइँ

gagan thapa ewb 2

नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा सडक निर्माण र मर्मतमा ढिलाइ गरेपछि सडक विभागको कार्यालय अगाडि धर्ना दिएका छन् ।

शुक्रबार प्रदेश सांसद र काठमाण्डौ क्षेत्र नम्बर ४ का स्थानीय जनतासहित ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा नेपाली कांग्रेसका सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनले कुनै पनि काम नगरेपछि दवाव दिन थापाले धर्ना दिएका हुन् ।

शैलुङ कन्ट्रक्सनका ठेकेदार शारदा अधिकारीको कम्पनी हो । ठेकेदार अधिकारी पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

‘जुन निर्माण व्यवसायीका कारण काठमाडौं उपत्यकाभित्रका सबै सडकहरू अस्तव्यस्त छन् त्यही कन्ट्रक्सनलाई क्षेत्र नं। ४ को अधिकांश खानेपानीको आयोजना ठेक्का लिएको छ’, पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘त्रिपुरेश्वरदेखि नगरकोटसम्मको सडक वर्षौंदेखि अलपत्र पार्ने शैलुङ कन्ट्रक्सनले दुःख दिएको छ ।’

gagan thapa stages on strike

‘अबको धर्ना यहाँ हुँदैन । सिंहदरबारमा हुन्छ । मन्त्रीज्यूको कार्यकक्षमा हुन्छ’, उनले भने, ‘सडकमा गएर जनतालाई दुःख दिन चाहँदैनौँ । हाम्रो सन्देश मन्त्रीजीले सुन्नु हुन्छ । धर्ना दिन बाध्य भएका छौँ ।’ सांसद थापाले आन्दोलनभन्दा अर्को बिकल्प नभएपछि आन्दोलनमा आएको बताए ।

चाबहिल, कपनलगायतका स्थानका सडक लगायतका अन्य कतिपय सडक निर्माणको म्याद वैशाखमै सकिएको छ ।सडकको काम २० प्रतिशतभन्दा कम मात्रै भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

नेपाली कांग्रेसका सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का भित्र सडकहरू निर्माणाधीन छन् । ती सबै सडकहरूको काम नगरेर शैलुङ कन्ट्रक्सनले वर्षौंदेखि लापरबाही गर्दै आएको छ ।

शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् । चाबहिल, जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ ।