१२ बैशाख २०८१, बुधबार

अझै सम्पन्न भएन नयाँ बानेश्वरमा आकाशे पुल

newbaneshwor
फाइल फोटो

नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन । कोभिड–१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो ।

पुल निर्माणको काम थोरै मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुलका लागि दक्ष प्राविधिक वीरगञ्जबाट ल्याउनुपर्ने भए पनि तत्कालको अवस्थामा ल्याउन नसकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अवस्था सामान्य भएर प्राविधिक ल्याएपछि केही दिनमा नै पुल सकिनेछ ।”

काठमाडौँको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर रहेको छ । डिभिजन सडक कार्यालयले विसं. २०७५ चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाइएको थियो । वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

    सम्बन्धित समाचार...