६ जेष्ठ २०८१, आईतवार

नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ज्यानमार्ने धम्कीको छानबिन गर्न संयुक्त राष्ट्रसंघको आग्रह

Denis Mukwege nobel peace prize

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेलाई आएको ज्यान मार्ने चेतावनीविरूद्ध तत्काल छानविन गर्न आग्रह गर्नुभएको छ । उक्त घटनासँग सम्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई शुक्रबार उहाँले आग्रह गर्नुभएको हो ।

“उहाँको जीवन गम्भीर जोखिममा रहेको देखिन्छ,” राष्ट्रसंघ मानव अधिकार मामिला प्रमुख मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत् कङ्गोको सरकारलाई ध्यााकर्षण गराउनुभएको छ । उहाँले यस घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गर्नुभयो ।

सन् २०१८ मा युद्धका समय यौन हिंसाविरूद्ध गरेको कामका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मुक्वेगेले गत जुलाइमा आफू र आफन्तमाथि ज्यानमार्ने चेतावनी आएको राष्ट्रसङ्घलाई जानकारी गराउनुभएको बताइएको छ ।

पूर्वी कङ्गोको झगडाग्रस्त दक्षिण किवुमा १८ व्यक्तिको नरसंहारको निन्दा गर्दै एउटा ट्वीट पठाएपछि आफूलाई ज्यानमार्ने धम्की आएको उहाँले बताउनुभयो ।

आन्तरिक सुरक्षा, न्याय र न्याय मन्त्रीहरू र अन्य निकायले पेशाले चिकित्सकसमेत रहेका मुक्वेगेको सुरक्षा सुनिश्चित गर्न सबै उपायहरू अवलम्वन गरिने राष्ट्रपति फेलिक्स सिसेकेदीले गत हप्ता आश्वासन दिनुभएको थियो ।

राष्ट्रपतिले सार्वजनिक गरेका टिप्पणीहरूको स्वागत गर्दै मुक्वेगे र उहाँको टोलीलाई आफ्नो कामलाई निरन्तरता दिइराख्ने वातावरणको निर्माण हुनेमा बचेलेटले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ‘एक सच्चा नायक’ भन्दै राष्ट्रपतिद्वारा सुरक्षाका लागि आएको सार्वजनिक अभिव्यक्तिको स्वागत गर्नुभयो ।

मुक्वेगेलाई यस पहिले पनि पटक पटक मार्ने धम्की आएको बताइएको छ । उहाँ सन् २०१२ अक्टुबरमा भएको हत्या प्रयासबाट बच्न सफल हुनुभएको थियो ।एएफपी