१४ बैशाख २०८१, शुक्रबार

गोकर्णको नगर प्राथमिक अस्पताल बन्द

gokarna primary health center

गोकर्णेश्वर नगरपालिकामा रहेको एकमात्र नगर प्राथमिक अस्पताल तीन दिनदेखि बन्द हुँदा सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकिएको स्थानीयवासीको गुनासो छ । अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि भदौ १० गतेदेखि अस्पताल बन्द छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक खुला भएपनि स्वास्थ्यकर्मीले राम्रोसँग नहेरेको बिरामीको भनाई छ । नगरपालिकामा एक प्राथमिक अस्पताल, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य क्लिनिक छ ।

सामुदायिक स्तरबाट नेपाल अर्थोपेडिक अस्पताल, निजी क्षेत्रबाट नेपाल मेडिकल कलेज प्रालि, शंकरापुर अस्पताल र खाँग्री इन्टरनेशलन हस्पिटल छन् । बिहीबार दिउँसो बच्चा बिरामी भएर नयाँपाटी स्वास्थ्य चौकी लिएर जाँदा स्थास्थ्यकर्मीले बाहिरबाटै औषधी दिएको स्थानीय चन्द्रबहादुर तामाङले दुःखेसो पोख्नुभयो ।

स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीभित्र छिर्न नदिई बाहिरबाटै औषधी दिएका थिए । के भएको भन्ने सोधेर औषधी दिए पनि बिरामीलाई स्वास्थ्यकर्मीले पुर्जी समेत नदिएको उहाँले बताउनुभयो । गोकर्णको प्राथमिक अस्पताल खुलेको भए धेरैले त्यहाँबाट उपचार पाउँथे । अस्पतालमा पिसाब, रगत लगायत परीक्षण पनि हुने भएकाले तुलनात्मक रुपमा बिरामीले धेरै सुविधा पाउँथे । मौसम परिवर्तनका कारण हुने रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने लगायतका बिरामी बढ्ने समयमा यातायात नचल्ने, अस्पताल बन्द हुने गर्दा स्रोत साधन विहीन एवं विपन्न वर्ग मर्कामा पर्ने गरेका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय गोकर्ण प्राथमिक अस्पताल आजसम्मका लागि बन्द गरिएकाले आइतबारदेखि सेवा सञ्चालनमा आउने बताउनुहुन्छ । विसं २०७५ मा गरिएको नगर क्षेत्रको जनसाङ्ख्यिक सर्वेक्षण अनुसार गोकर्णेश्वरमा एक लाख पाँच हजार मानिस बसोवास गर्छन् ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले पुर्जी समेत नदिएको विषयमा थप बुझ्ने उहाँले जानकारी दिनुभयो । नगरपालिकामा हालसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक जना सङ्क्रमितको निधन भइसकेको छ भने ३१ जना ठीक भएर घर फर्किएका छन् । राजधानीका विभिन्न अस्पतालमा १६ जना नगरपालिकाका सङ्क्रमितको उपचार भइरहेको छ । आइसियुमा उपचार गरेका नगरपालिकाका एक सङ्क्रमितसमेत पछिल्लो समय ठीक भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले सुनाउनुभयो । नगरपालिकाका सङ्क्रमितमध्ये ५१ जना घरमै एकान्तवास (आइसोलेसन) मा बसेका छन् । नगरपालिकाको वडा नं.–४ स्थित ऐतिहासिक देशे गाउँका एक जना घरमै एकान्तवासमा बसेका सङ्क्रमित घर बाहिर निस्केर टोलवासीलाई समेत चिन्तित बनाएको भन्दै स्थानीयवासीले सामाजिक सञ्जालमा समेत आक्रोश पोखेका छन् ।

वडा नं.–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ यस विषयमा आफूलाई कसैले जानकारी नगराएको बताउनुहुन्छ । लक्षण नदेखिएका सङ्क्रमितलाई अस्पतालमा नराख्ने स्वास्थ्य मन्त्रालयको नीति भएकाले धेरै जना घरमै एकान्तवासमा रहेको नगरपालिकाले जनाएको छ । स्वाब परीक्षण गर्दा नगरपालिकामा ९९ जनाको पोजेटिभ प्रतिवेदन आएपनि तीन जनामामात्र लक्षण देखिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । घरमै एकान्तवासमा बसेका सङ्क्रमितलाई गाह्रो भएमा हटलाइन नं. ११३३ मा सम्पर्क गरी अस्पताल जाने व्यवस्था गरिने गरेको जनाइएको छ ।

सङ्क्रमितलाई तत्काल अस्पताल जान एम्बुलेन्स बोलाउनुपरेमा हटलाइन १०२ मा सम्पर्क गरेर बोलाउन सकिने जनाइएको छ । सङ्क्रमितले नगरपालिकामा सम्पर्क गरेर पनि केही नगर्न भनी मन्त्रालयले निर्देशन दिएकाले सिधै उल्लेखित नम्बरमा सम्पर्क गर्न आह्वान गरिएको छ ।