२७ बैशाख २०८१, बिहीबार

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन: सरकारका प्रवक्ता

yubaraja
फाइल फोटो

डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नै फेरि नियुक्त गर्नेबारे मन्त्रिपरिषदमा छलफलनै नभएको बताएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

घिसिङको भदौ मसान्तमा कार्यकाल सकिँदैछ।

उनको पुनर्नियुक्ति भएका समाचारहरू बाहिर आइरहेको सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता खतिवडाले कुनै औपचारिक प्रस्तावसमेत नआएको बताएका हुन्।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि छैन।त्यससम्बन्धि छलफल पनि केही भएको होइन।’

कुलमानलाई पुनर्नियुक्ति दिइएको सूचना, लेखाइ र बोलाइमा कुनै सत्यता नभएको उनले बताए।

कुलमानलाई नै फेरि प्राधिकरणमा पुनर्नियुक्ति दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारलाई दवाब दिइरहेका छन्।