१५ बैशाख २०८१, शनिबार

यी ३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी

hospital

कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्य्याको अस्पताल बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई, र दैलेखमा छ वटा अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, रुकुम पश्चिममा दुई, सल्यानमा छ, कालीकोटमा दुई र डोल्पामा तीन वटा अस्पतालका भवन निर्माण हुनेछन् ।

मन्त्रालयले ३९ मध्ये ३३ वटा अस्पताल भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाई पठाउनेछ । बाँकी छ वटा भवन भने सहरी विकास मन्त्रालय अन्तर्गतको भवन डिभिजन कार्यालयमार्फत निर्माण गरिनेछ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी÷स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिनेछ भने कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । उहाँले चिकित्सकीय सेवा सेवाहरु गाउँमै पु¥याउने उद्देश्यले अस्पतालका भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिनेछ । पाँच श्ययाको लागि रु. सात करोड, १० श्ययाको लागि रु. ११ करोड र १५ श्ययाकोे भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा १६ देखि १८ करोडसम्म बजेट उपलब्ध गराइनेछ । मन्त्रालयले भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताबापत १ करोड रकम सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा चालू आवभित्रै बोलपत्र आव्हान गरी भवन निर्माणको काम थालिनेछ ।

बहुवर्षीय आयोजना अन्तर्गत सात करोडदेखि १८ करोडसम्मको लागतमा भवनहरु निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना सहरी विकास मन्त्रालय अन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो । छिटो छरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो । यसपटक छ वटा भवनमात्र भवन डिभिजन कार्यालय अन्तर्गत कार्यान्वयन गरिनेछ ।

यी स्थानीय तहमा अस्पताल

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकी, चौकुने गाउँपालिकोको बिजौरा स्वास्थ्य चौकी, वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकता अनुसार अस्पताल भवन निर्माण गरिनेछ ।

मुगुमा सोरु र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट, डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् । त्यस्तै, जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख, कालीमाटी गाउँपालिका र बनगाडकुपिन्डे नगरपालिका, रुकुमपश्चिममा सानीभेरी गाउँपालिका, आठबीसकोट नगरपालिका, दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् ।