२७ बैशाख २०८१, बिहीबार

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

sandeep Jamaica Tallawahs wicket

लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो ।

सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाउनुभयो । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिनुभयो ।

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाउनुभयो । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गर्नुभएको थियो । उहाँले ६ बल खेल्दै ४ रन बनाई अविजित रहनुभयो । जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ ।

आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।