१४ बैशाख २०८१, शुक्रबार

रवि लामिछाने सहित तिन जनालाई अदालत पेश गरिँदै, हेटौंडाबाट हजार प्रहरी झिकाइयो

Rabi lamichhane

आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ ।

आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्थामा कडाइ गर्न हेटौंडाबाट झण्डै १ हजारको संख्यामा थप प्रहरी बल झिकाइएको बताइएको छ ।

प्रहरीले सरकारी वकिलमार्फत तीनैजनालाई अनुसन्धानको लागि थप म्याद माग्ने तयारी गरेको छ । तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

सम्बन्धित समाचार

– रवि लामिछाने सहित ३ जना पक्राउ, आजै चितवन लगिदै

प्रशानले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ तर रविका समर्थकले चौबीसकोठी चोकमा ठूलो प्रदर्शनको तयारी गरिरहेका छन् । उनीहरुले रविलाई रिहा गराउन दबाब दिने तयारी गरेका छन् । रवि समर्थकको तयारी र प्रशासनको तयारी हेर्दा आज चितवनमा ठूलै झडप हुन सक्ने आशंका गरिएको छ । प्रशासन सम्भावित अप्रिय घटना रोक्न प्रयासरत छ ।

सम्भावित अप्रिय घटना रोक्न र रविको पक्षमा हुने प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय परिसरमा बिहानैदेखि तयारी अभ्यास भइरहेको छ । ठुलो घटना हुन नदिनलाई हेटौडाबाट थप एक हजार प्रहरी झिकाइएको छ