२० बैशाख २०८१, बिहीबार

भरतपुर महानगरको फोहोर एक सातापछि उठ्यो

49021859

स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए पनि समय लाग्ने भएकाले अस्थायीरुपमा विगतमा बिसर्जन गरिएकै ठाउँमा फोहोर फालिएको बताउनुभयो । स्थानीयको मागलाई सम्बोधन गर्दै व्यवस्थित बिसर्जन गर्ने गरी फोहोर उठाउन थालिएको उहाँले जानकारी दिनुभयो । बुधबार सहमति भएसँगै आजदेखि महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिने भएको छ ।

महानगरले दीर्घकालिन रुपमा फोहोर व्यवस्थित गर्दैछ । दाहालका अनुसार कोरीयन सरकारको सहयोगमा आँपटारीमा व्यवस्थित डम्पिङ साइड बन्दैछ । सो क्षेत्रको १५ बिगाह वन क्षेत्रको सोधभर्ना गर्ने गरी महानगरले माडीमा १५ बिगाह जमीन खरिद गरेर वन बनाउँदै छ ।

झण्डै एक वर्ष अघि कोरीयन सरकारसँग सम्झौता गरी बिस्तृत अध्ययन प्रतिवेदनको काम कोरीयन कम्पनीले नै गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरेना सङ्क्रमणका कारण काममा केही ढिलाई भएको हो । सेप्टेम्बरको अन्त्यसम्ममा प्रतिवेदन तयार हुनेछ ।

कोरीयन सरकारकै रु ९ करोडको खर्चमा प्रतिवेदन बनिरहेको छ । योसँगै फोहोर बिसर्जनको उपयुक्त विधिसहित काम अघि बढ्ने छ । त्यसको सहयोग कोरीयन सरकारले नै गर्ने दाहालको भनाइ छ । फोहोरबाट ऊर्जा, प्राङ्गारीक मल, पुनः प्रयोग लगायतको काम गरिनेछ ।

महानगरले कम्पोष्ट च्याम्बरमा अनुदान, फोहोर व्यवस्थापन तालिमलगायत गतिविधि गर्दै आएको छ । प्रदेश सरकारसँग मिलेर भरतपुर महानगरपालिका वडा नम्बर ११ नवजागृति सामुदायीक वनमा कुहिने फोहोरबाट वायोग्यास र मल बनाउँदै छ । जसका लागि बाग्मती प्रदेश सरकारले रु ५० लाख सहयोग गर्दै छ । नपुग रकम महानगरले व्योहोर्ने उहाँले जानकारी दिनुभयो ।

दाहालले आफू प्रमुख भए देखिनै फोहोर व्यवस्थापनमा लागेको भए पनि व्यवस्थित गर्न आवश्यक प्रक्रियाका कारण ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फेहोर बिसर्जनका लागि व्यवस्थापनको काम नै नभएको होईन । काम सम्पन्न गर्न समय लगेको हो ।” अस्थायी फोहोर बिसर्जन गर्ने अन्य ठाउँको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बिसर्जन गरिएको फोहोरबाट मानव, वन्यजन्तु र जलचरलाई असर नपरोस् भन्नेमा महानगर सधैँ लगिरहेको भन्दै उहाँले कतिपय बध्यताका कारण पनि भनेजस्तो गर्न नसकीएको स्वीकार गर्नुभयो । नगरवन क्षेत्रमा फोहोर बिसर्जन गर्दा स्थनीय र नदीका जलचरमा असर पर्ने गुनासो आइरहेको छ ।

भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख ई. बिराट घिमिरेका अनुसार महानगर क्षेत्रबाट दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । महानगरले मुख्य बजार क्षेत्रमा दैनिक फोहोर सङ्कलन गर्दै आएको छ भने ग्रामीण क्षेत्रमा १५ दिनमा एक पटक फोहोर उठाउने घिमिरेले बताउनुभयो ।

ठाउँअनुसार एक दिन बिराएर, हप्तामा दुई पटक, हप्तामा एक पटक फोहोर उठाइँदै आएको छ । स्रोतमै फोहोर कम गर्न महानगर लागि परेको उहाँले बताउनुभयो । सुइरो कार्यक्रमसँग सहकार्य गरेर प्लाष्टिक जन्य फोहोर घटाउँदै आएको छ । महानगरबासीलाई घरमा फोहोर वर्गीकरण गरी अधिकतम उपयोग गरेर घरबाट पठाउने फोहोर घटाउन अनुरोध गरिएको घिमिरेले बताउनुभयो ।