७ बैशाख २०८१, शुक्रबार

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन

shubhadra adhikari

निमोनियाबाट पीडित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

कलाकारितामा करिब चार दशकदेखि सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान लगायतका धेरै नेपाली चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेकी छिन्।

उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

उनलाई २०६३ सालमा दीर्घ साधना सम्मानबाट पनि सम्मानित गरिएको थियो।

उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंकार गरियो । अधिकारीले आँखा दान समेत गरेको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका केही कलाकार पशुपति आर्यघाट पुगेका थिए । साथै, पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाट पुगे ।