७ बैशाख २०८१, शुक्रबार

के “प्रेमगन्ज” ले पुरा गर्ला राजुको सपना ?

raju fuyaal

फिल्म खेल्ने रहर सहित आज भन्दा २५ बर्ष पहिले निर्माता तथा निर्देशक शम्भु प्रधानको घरमा भाडा माझ्न बसेका राजु फुयाँल उक्त घरमा २ बर्ष काम गर्दाका दर्दनाक पिडाहरु बताईरहँदा उनका आँखामा आँशु छचल्किएको प्रष्ट देखिन्छ ।

निर्देशक शम्भु प्रधानको घरमा काम गर्ने सिलसिलामा उनको भेट अनवर खान संग हुन गयो र उनैले राजु पुयाँललाई सगुन नामक नेपाली चलचित्रमा स्पट ब्वईको रुपमा काम गर्ने वातावरण मिलाई दिए ।

त्यो दिनबाट आज सम्म आई पुग्दा लगभग ३०० चलचित्रमा स्पट ब्वाईको काम गरिसकेका उनको दैनिकी २५ बर्ष पहिले जे थियो आज पनि त्यही नै छ । उनले स्पट ब्वई मार्फत चलचित्र क्षेत्रमा भित्रयाईएका कयौं ब्यक्तिहरु अहिले उत्कृष्ट निर्माता, निर्देशक, छायाँकार भई आर्थिक रुपमा सुसम्पन्न भएका छन् ।

उनले २५ बर्षको दौरानमा सयौं निर्माताहरुको चलचित्रमा काम गरे । निर्माताहरुलाई देख्दा एकदिन म पनि निर्माता हुन पाए कस्तो हुने थियो होला भनी उनको मनमा विचारहरुको युद्ध चलिरहन्थ्यो ।

तर राजुलाई भने आजसम्म पनि विहान बेलुकाको छाक टार्न धौ धौ नै छ । नत उनको हालसम्म आफ्नो बस्ने एउटा झुपडी नै छ । सम्पत्तीको नाममा पनौतीको सुनथानमा ४ आनाको जग्गा छ । त्यो पनि बस्ने ठाउँ नभएपछि मामलीले उनको आमालाई दिएका थिए । अब त्यही जग्गामा एउटा सानो माटोको घर बनाई आफ्नो ६५ बर्षको आमा,श्रीमती र छोरालाई राख्ने उनको ठुलो सपना छ ।

उनको सानो माटोको घर बनाउने सपना र चलचित्रमा निर्माता हुने सपना यर्थाततामा परिवर्तन गर्न “नदुखुन मनहरु” कार्यक्रमले पहल गर्ने भएको छ साथै राजु फुयाँलको निर्माणमा नेपाली कथानक चलचित्र “प्रेमगन्ज“ निर्माण हुने भएको छ ।

उनै राजु फुयाँलको जीवनको अत्यन्तै रोचक कहानी सहतिको विस्तृत संङ्गालो “नदुखुन मनहरु” कार्यक्रमको २२ औं श्रृंखला युट्युब मार्फत प्रसारण भएको छ । यसै कार्यक्रम मार्फत राजु फुयाँलको घर निर्माण अभियानलाई अघि बढाईएको छ ।

नोट: दुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्किएको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।

सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।