१७ बैशाख २०८१, सोमबार

जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु

NG Rupandehi goma scaled

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलोमा आएपछि आचार्य छक्क पर्नुभयो । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उहाँको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

“कोरोना लागेको भनेर मानिसहरु टाढा–टाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, सङ्क्रमित आचार्यले भन्नुभयो । आचार्यले कोरोना भाइरस सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गर्नुभएको थियो ।

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधिहरु कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुग्नुभएको छ । यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुख समेत बन्द भएका छन् । जनप्रतिधिहरु आएपछि छरछिमेकीहरुको माया र सद्भाव झन् बढेको सङ्क्रमितहरुको प्रतिक्रिया छ ।

बुटवल­११ का सङ्क्रमित परिवारलाई नियमित दूध दिंदै आएका एक व्यक्तिले सङ्क्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर सङ्क्रमितहरुका दुबै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजान समेत दबाब दिए । यसका कारण छिमेकीहरु पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेट्नुभएपछि छिमेकीहरुको माया र सद्भाव झन् बढ्यो । “नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक सङ्क्रमितले भन्नुभयो ।

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् । “अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो”, आपुूले मतदान गरेका जनप्रतिनिधि घरदैलोमा आएको देखेर आँखाभरि खुशीका आँसु झार्दै बुटवल १३ का सङ्क्रमितले भन्नुभयो ।

गत भदौ ५ गते हिन्दू नारीहरुको चाड हरितालिका तीजको दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेशन सेन्टरमै पुगेर उपप्रमुख गुमादेवी आचार्यले शुभकामना आदानप्रदान गर्नुभयो । “चाडको दिनमा आइसोलेशनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ”, वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

उपप्रमुख आचार्यले तीजको दिनमा आइसोलेशनमा रहेका ३४ सङ्क्रमितलाई भेटेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामना पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधिहरु आइसोलेशनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यसमध्ये महिला ५४ जना र पुरुष १११ जना छन् । सबैभन्दा बढी वडा नं ११ मा ४८ जना सङ्क्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा अधिकांश सङ्क्रमितमा लक्षण नदेखिएकाले सङ्क्रमण फैलिदै गएको छ । सङ्क्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्रयाक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ ।