१७ बैशाख २०८१, सोमबार

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

pujari

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ ।

रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो । कसैसँग कुनै दुश्मनी नभएका र सँधै समाजको हितको निम्तिमात्र कार्य गरेका सन्त जस्तो व्यक्तिको हत्या भएकोे हप्ता दिन पुग्नलाग्दा पनि पनि एकजना हत्यारा पनि पक्राउ नपरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।

सार्वजनिक जग्गामा आफ्नै लगानीमा मन्दिर बनाएर सोही स्थानमा कुटी बनाएर बसिरहेका पुजारीको हत्या कसले कुन उद्धेश्यले गरेको हुनसक्ने भन्ने विषयमा सबैको चासो र जिज्ञासा रहेको छ ।

पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पुर्‍याउन सकेको छैन ।

पुजारी साहको हत्या भए लगतै सो स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अनुसन्धान सुरु गरेको थियो । रौतहट प्रहरीले प्रदेश प्रहरीको सहयोगमा तालिम प्राप्त कुकुरको मद्धतले पनि अनुसन्धान गरेपनि खासै ठोस सुराक पत्ता लगाउन सकेको छैन् । प्रहरीले अनुसन्धान जारी राखेको भएपनि आजसम्म हत्या कसले कुन उद्देश्यले गरेको हो भन्ने पत्ता लगाउन सकेको छैन ।

प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘हत्या गरिएका पुजारी शान्त स्वभावका थिए,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।’

अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको उनको दाबी छ । घटनाका दोषीहरु उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको पोखरेलले बताए ।

साहले पूजा गर्दै आएको हनुमानको मन्दिर उनको घरबाट झन्डै १ किलोमिटर पर रहेको छ। उनी मन्दिरमा नै बस्दै आएका थिए। घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने कारणले समेत भएको हुनसक्ने अनुमान भइरहेको छ। प्रहरीले यसकोणबाट पनि अनुसन्धान गरिरहेको छ।

आफ्नै खर्चले हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका साहको हत्यापछि विश्व हिन्दु परिषद लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहले पनि पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, साहलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि खेसरहिया बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गृह प्रशासनसमक्ष राखेका छन् ।

देश विदेशमै चर्मामा रहेको यो हत्याकाण्डलाई सुल्झाउन सिङ्गो प्रहरी संगठनलाई दवाव सृजना भएको छ । धेरै क्षेत्र र व्यक्तिहरुबाट यस विषयमा प्रश्न उठाएपछि नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक मार्फत सो घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानको लागि रौतहट प्रहरीलाई संघिय प्रहरी इकाइ कार्यालय जनकपुर तथा प्रदेश नम्बर २ प्रहरी कार्यालयले सहयोग गरेको जनाएको छ । उसले सो पोष्ट मार्फत यो घटनालाई प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुगमन गरिरहेको जानकारी दिएको छ ।