५ जेष्ठ २०८१, शनिबार

धमाधम मूर्ति भेटिँदै, सम्पदा संरक्षणको माग

murti

धुलिखेल नगरपालिका–३ बतासेमा केही हप्ताअघि प्राचीन किराँतकालीन देवीको मूर्ति फेला प¥यो । सडक खन्ने क्रममा युवाहरूले दायाँ हात टुटेको अवस्थामा उक्त मूर्ति फेला पारेका हुन् । मूर्ति फेला परेपछि सोही स्थानमा राखेर पूजार्चना गरिए पनि निकै पुरानो भएको बताइएपछि असुरक्षित भएको जनाउँदै स्थानीय युवाले नगरपालिकालाई जिम्मा लगाएका छन् ।

करिब तीन फिट अग्लो उक्त मूर्ति पुरातत्वविद्ले पनि किराँतकालीन हुन सक्ने जनाउँदै थप अनुसन्धान गर्नुपर्ने बताएका छन् । “पुरानो मूर्ति असुरक्षित हुने देखिएकाले सुरक्षाका लागि नगरको जिम्मा लगाएका हौँ”, स्थानीयवासी सुरेन्द्र पराजुलीले भन्न्ुभयो । मूर्ति भेटिएको उक्त स्थान काभ्रेकोटको नामले पनि परिचित छ ।

विसं २०७६ चैत ७ गते पाँचखाल नपा–९ साठीघरमा सडक खन्ने क्रममा समुद्र देवताको मूर्ति भेटिएको थियो । बीस इन्च उचाइको उक्त मूर्ति प्रारम्भिक अनुसन्धानले समुद्र देवताको रहेको र टाउकाको केही भाग फुटेको तथा करिब चारदेखि ५०० वर्ष पुरानो रहेको पुरातत्व विभागका अधिकृत प्रकाश खड्काले बताउनुभयो । सोही साल चैत पहिलो सातामै पाँचखाल–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वरी मञ्जुश्री ९देवी०को मूर्ति भेटिएको थियो । दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले मध्यकालीन समयको ९करिब चार सयदेखि ५०० वर्ष पुरानो० भएको खड्काले बताउनुभयो ।

विसं २०७६ कार्तिकमा खोज अनुसन्धानका क्रममा पाँचखाल–१३ स्थित तेमालबेंसीमा प्राचीन ‘स्तम्भ’ फेलापरेको थियो । पुरातत्व विभागले उक्त स्तम्भ प्राचीन शीखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुई वटा थाममध्ये एउटा खण्ड हुनसक्ने जनायो । स्थानीयवासीले सम्बत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल–९ पलाञ्चोकमा भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।

साथै, स्तम्भ र तीन वटै मूर्ति भेटिएका स्थानमा थप उत्खनन् गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, जिल्ला प्रशासन तथा पुरातत्व विभागसँग माग गरिएको छ । पाँचखालका सम्पदा संरक्षणका लागि स्थानीय युवाले ‘पाँचखाल पुरातत्व सम्पदा बचाउ अभियान’ नै सञ्चालन गर्दै आएका छन् ।

पूर्वमन्त्री गोकुलप्रसाल बाँस्कोटाले पाँचखाल नगर क्षेत्रमा विगत एक वर्षदेखि खोज अनुसन्धानका क्रममा सम्पदाको सम्भावना देखिँदै आएकाले सम्पदा संरक्षणका लागि गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । “इँट्टाभट्टा हैन, सयौँ वर्ष पुरानो सभ्यता उत्खनन् र संरक्षणमा नयाँ पुस्ताकै काँधमा छ, यो पाँचखालको विकासका लागि नयाँ प्रयास हुनेछ” उहाँले भन्नुभयो ।

पाँचखाल क्षेत्रमा उत्खनन्का क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खनन्मा सहभागी विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ । पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाई भएको ईट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदनमा उल्लेख गर्दै सम्पदा क्षेत्रको संरक्षण र अवैध उत्खनन् रोक्नु आवश्यक रहेको जनाइएको छ ।

पाँचखाल क्षेत्रमा भेटिएका सम्पदा सामग्री, मूर्ति तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले ‘जियोफिजिकल सर्वे’ ९भू–भौतिकी सर्वेक्षण० गर्ने जनाएको छ । पाँचखालको सबै सम्पदा क्षेत्रमा उत्खनन् सम्भव नभएकाले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो । उहाँका अनुसार नगरका निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले जियोफिजिकल सर्वे उपयुक्त देखिएको विभागले निष्कर्ष निकालेको हो ।

गौतमका अनुसार जियोफिजिकल सर्वे मेशिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीचक्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्न लागिएको हो । पाँचखाल क्षेत्रमा उत्खनन्का क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ । विभागले काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भेटिएका मूर्ति तथा स्तम्भको अध्ययन गरिरहेको जनाइएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले गत वर्षदेखि पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले २०७६ मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।

    सम्बन्धित समाचार...