१३ बैशाख २०८१, बिहीबार

शून्य रहेको मनाङमा देखिए कोरोना सङ्क्रमित

Manag

कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् ।

लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ ।

विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा सङ«क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो । प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए ।