१२ बैशाख २०८१, बुधबार

विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता कोमामा

Alexei Navalny

विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा गएका छन् ।

रुसका विपक्षी नेता अचेत अवस्थामा अस्पतालमा रहेको र उनलाई कसैले विषाक्त गरेको हुन सक्ने उनकी प्रवक्ताले बताएकी छन् । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी हाल अस्पतालमा छन्, र उनको होस आएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए । उनले भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका छन् ।

उनी आन्तरिक उडानका क्रममा हवाई जहाजभित्रै बेहोस भएका थिए । त्यसपछि उनी सवार हवाई जहाजलाई आपतकालीन अवतरण गराएर अस्पताल लगिएको थियो ।

नभाल्नीका समर्थकहरुले नभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको आशंका गरेका छन् । विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको उनीहरुको आशंका छ ।

रुस सरकारले नाभाल्नीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताएको छ । ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । उनलाई सत्ताले नै विषाक्त पदार्थ प्रदान गरेको आशंका उनको टिमको छ ।

गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेका थिए ।

यसैबीच जर्मनी र बेलायतले नभाल्नीको स्वास्थ्य र उनलाई विष खुवाइएको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताएकी छन् ।

उनलाई बचाउन आवश्यक हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको जर्मन चान्सलर एङ्गेला मेर्कलले बताएकी हुन्।

नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ ।

राष्ट्रपति पुटिनका प्रवक्ताले पनि नभाल्नीको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लैजान अनुमति दिइने बताएका छन् ।

यसैगरी बेलायतका विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारले आफूलाई चिन्तित बनाएको बताएका छन् ।