७ बैशाख २०८१, शुक्रबार

सोलुखुम्बुका दुई सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

army sutkeri

सोलुखुम्बुबाट जटिल स्वास्थ्य अवस्था भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका–१ की सुत्केरी महिला कामिनी तामाङ र नेचासल्यान गाउँपालिका–१ सल्यानकी सुत्केरी महिला मनिषा तामाङको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिसाको बच्चाका लागि आईसियु आवश्यक परेकाले काठमाण्डौं रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डाक्टर अभिषेक सुमनले जानकारी दिए ।

त्यस्तै, खुम्बु पासाङल्हमू गाउँपालिकामा सञ्चालित पासाङल्हमू निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी गराउने क्रममा सालनाल अड्किएपछि आएको समस्या समाधानका लागि कामिनी तामाङलाई उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यसैबिच, गएको आर्थिक बर्ष २०७६÷७७ र चालु आर्थिक बर्षमा गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सोलुखुम्बुकमा नौ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि लक्षित गरी २०७५ सालबाट सुरु गरेको कार्यक्रम गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धारमा सोलुखुम्बुमा पनि प्रभावकारी देखिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले बताए ।