१५ चैत्र २०८०, बिहीबार

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला

sushil bhatta

उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो ।
आदेशमा भनिएको छ, “अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ ।”

यसअघि पाटन अदालतमा मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यही साउन २७ गते भट्टलाई प्रमुख कार्यकारीको हैसियतमा काम गर्न तत्कालका लागि नदिन अल्पकालीन अन्तरिम आदेश जारीे थियो ।

भट्टमा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्ने योग्यता नपुगेको र स्वच्छ छविको नभएको जिकिर गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गर्नुभएको थियो । आज दुवै पक्षबीचको छलफलपछि अदालतले भट्टलाई काम गर्न बाटो खुलाएको हो ।