१५ बैशाख २०८१, शनिबार

सांसदलाई लिम्पियाधुरा समेटिएको नक्सासहितको नयाँ लोगो हस्तान्तरण

logo

संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरे ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आइतबारदेखि नै नयाँ लोगो लगाएका छन् ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका माननीय सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ ।

लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्साअंकित लोगो आइतबारबाटै उपलब्ध गराइने छ ।