१४ बैशाख २०८१, शुक्रबार

निःशुल्क मिटरबक्समा रकम असुलिएको भन्दै उजुरी

metar

गरीब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका उपभोक्ताले पैसा फिर्ता मागेका छन्।

नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको मिटरबक्स वितरणका क्रममा रकम असुल गरिएको भन्दै ४१ घर उपभोक्ताले वडा कार्यालयमा संयुक्त उजुरी दिएका हुन्।

विद्युतीकरणको काम भइरहेको खार्मीमा २९ घर स्थानीय बासिन्दाले पोल ढुवानीको क्रममा समेत उपभोक्ता समितिलाई एक/एक हजार पैसा तिरेको भन्दै वडा कार्यालयमा रकम फिर्ताका लागि निवेदन दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब घरपरिवारका लागि निःशुल्क उपलब्ध भएको मिटरबक्समा ७५० देखि दुई हजारसम्म रकम असुलेको नेकपा वडा कार्यसमिति खार्मीका अध्यक्ष हर्कराज राईले बताए।

निःशुल्क पाउने मिटरबक्समा रकम असुलेको आवाज नेकपा वडा समितिले उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्विपक्षीय छलफल भएको थियो।

छलफलमा पक्ष र विपक्षबीच कुरा बाझिएपछि पीडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरिएअनुसार उनीहरुले तीन दिनघि वडा कार्यालयमा निवेदन दर्ता गराएका हुन्।

पीडित भनिएका घरधुरीबाट संयुक्तरूपमा निवेदन आएकाले पुनः व्यक्तिगतरूपमा छुट्टाछुट्टै निवेदन दिन आग्रह गरिएको वडाध्यक्ष रामचन्द्र राईले बताए।