१२ बैशाख २०८१, बुधबार

भरतपुर अस्पतालका मेसु डा.तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण

bharatpur hospital

फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए । तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।

आज (आइबार) विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।

यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।

अस्पतालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन् ।

डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आइरहेका थिए । संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । डा. तिवारीले आफ्नो अवस्था सामान्य रहेको तर संक्रमण कसरी भयो भन्ने बारेमा अहिलेसम्म केही थाहा हुन नसकेको डा. तिवारीको भनाइ छ ।

यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न आउँदै गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट ट्रेसिङ गरिँदै छ ।

डा. पोखरेललाई संक्रमण पुष्टि भएपछि प्रसूति विभागको टिमसमेत आइसोलेसनमा जानुपर्ने हुँदा प्रसूति गराउने महिलाहरुलाई समस्या हुने देखिएको छ । डाक्टरहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने जनाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालकै सिनियर चिकित्सकले अब अस्पतालको दैनिक प्रशासनिक कार्य गर्ने बताए ।

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका थिए । अस्पताल बाहिर होम क्वारेन्टाइनमा १३ जना छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु पनि छन् ।

गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उहाँकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहनुभएको छ ।