१३ बैशाख २०८१, बिहीबार

दूधकुण्ड फुट्ने सम्भावना न्यून छः प्रहरी

Dudh Kunda

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ । यही साउन २३ गते बिहान दूधकुण्ड मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुाका कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजानिक गरिएको हो ।

साविककै अवस्थामा रहेको दूधकुण्ड फुटेको भन्ने भ्रमपूर्ण रहेको र सोही तालको उत्तरतर्फ करीब २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षाले चोकर्मामा पानीको बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिनुभयो ।

साउन २२ गते राति अविरल वर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहनुभएका लाक्पा लामाले जानकारी दिनुभयो । साउन २३ गते बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको जनाउँदै स्थानीयवासीले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन ।

मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दूधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो । सदरमुकाम सल्लेरीदेखि ६० कोस उत्तरतर्फ चार हजार ५०० मिटर उचाइमा दूधकुण्ड पर्छ । समुद्र सतहदेखि पाँच हजार ६५० मिटरको उचाइमा चोकर्मा पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा दुई चौँरीगोठ र तीन काठेसाँघु बगाए पनि उक्त क्षतिका बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन ।