fbpx
१ जेष्ठ २०७८, शनिबार

ढोरपाटनका बाढी पीडितले अझै पाएनन सहारा

बागलुङको निसीखोला गाउँपालिका– १, २ र ३ मा चार वर्ष अघिसम्म ठूलो गाउँ थियो । गाउँलेबीच एउटै मुटुजस्तै मिलाप पनि थियो । खेतबारीमा काम गर्न अर्मपर्म, मेलापात र जन्ती मलामी सबैका लागि साथसाथ हुन्थे । शिक्षादिक्षा होस् या आइपर्ने अरु सबै खाले कामका लागि पनि उनीहरुको आफ्नै खालको सहकार्य थियो । यस्तो सहकार्य र सहजता अहिले यहाँका गाउँमा छैन । उनीहरु छरिएका छन् ।

मनभरि माया र मुटुभरि सम्झना बोकेर गहभरि आँशु पार्दै हरेक दिन गाउँ छोड्नेहरु बढेका छन् । केही वर्ष पहिलेसम्म मौरीको गोला जस्तो गाउँ अहिले यत्रतत्र भएको छ । पुराना दिन सम्झेर धेरैले गाउँ फर्कने चाहना त राख्छन् तर पहिरोले छिन्नभिन्न पारेको यहाँको अवस्था सम्झिएरै फर्किन सक्दैनन् । अझै यो गाउँभरि नै पहिरोको त्रास छ । पहिरोले जमीन छियाछिया भएपछि बागलुङ निसीखोला गाउँ पालिकाका तीन वटा वडाका करिब एक हजार पाँच सय स्थानीय विस्थापित भएका छन् ।

तलदेखि माथिसम्मको जमिनका बीचमा बाढीपहिरोले कटान गरेपछि स्थानीयवासी यतिखेर त्रिपाल र गोठमा रात काट्दै छन् । केहीले आफ्नै बलबुताले अस्थायी घर बनाएका छन् भने केही अझै आफन्तको शरणमा छन् ।‘‘वर्षामा हिँडेको जमीन सम्झिँदा घर फर्किन मन लाग्दैन’’ स्थानीयवासी हीरा भण्डारीले भन्नुभयो ‘‘अब पहिलेको जस्तो गाउँ बन्ने आशै सेलाएको छ ।’’

चरचरी चिरिएको जमीन, दलदलेले जताततै भत्केका घरहरुले बस्ती छिरोल्यो । वर्षाको समयमा भत्केका घरभन्दा धेरै त गाउँलेको मन भाँडिएको छ । हिउँदका महिनामा फर्कन खोज्ने गाउँलेलाई वर्षा लागेपछि पहिरोले अत्याउछ । जिल्लाको निसीखोला गाउँपालिका–१, २ र ३ मा पर्ने गाउँमा पहिरोको त्रास चल्न थालेको धेरै भयो । वडा नं १ को हुल्दीमा ५० वर्ष पहिले एक्कासि जमीन चर्किएर बारीका कान्ला, खेतका आली खस्न थालेपछि कहिले ठूलो त कहिले साना पहिरो हुल्दीवासीले झेल्दै आएका छन् ।

विसं २०७२ को भूकम्प र २०७३ को वर्षामा खसेको ठूलो पहिरोले हुल्दी छिन्नभिन्न भएको हो । त्यसपछि हुल्दीवासी वर्षा आउँदा त्रसिने गरेका छन् । कमजोर जमीनमाथि रहेको पूरै बस्तीनै जोखिममा परेको छ । हिउँदमा घरमा बस्ने र वर्षातको समयमा गाउँभन्दा केहीमाथि बनाइएका गोठमा पुगेर रात काट्ने गरेको स्थानीयवासी बताउँछन् । वडा नं १ को हुल्दीका स्थानीयवासीले उचित व्यवस्थापनसहित बस्ती स्थानान्तरणका लागि बेला बेलामा आवाज उठाउने गरेका छन् । अहिले वडा नं २ र ३ मा समेत पहिरोले जमीन छिन्नभिन्न पारेको छ ।

‘‘पोहोरै यहाँ आएर विज्ञहरु हेरेर गएका हुन् त्यसको रिपोर्ट के आयो थाहै भएन्’’ स्थानीयवासी ईन्द्रबहादुर मल्ल सम्झनुहुन्छ,‘‘गाउँको उठिबास हुँदा अन्तै सर्नुपर्छ भन्ने लागेको छ ।’’ डेढवर्ष पहिला निसीखोला गाउँपालिकाले भू–गर्भ विद्हरुको समूह बोलाएर जमीनको अध्ययन गरेको थियो । खानी तथा भूगर्भ विभाग काठमाडौँकी वरिष्ठ जियोलोजिष्ट (भूगर्भविद) मोनिका झा तथा अर्की भूगर्भविद सुनिता भट्टराईको टोलीले हुल्दीको पहिरोको अध्ययन गरेको थियो । उक्त समूहले तत्काल बस्ती स्थानान्तरण गर्नुपर्ने, अन्य बस्तीलाई जोगाउनका लागि ठाउँठाउँमा चेक ड्याम निर्माण गर्नुपर्ने बताएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुहुन्छ ।

भूगर्भविदहरुले दिएको सल्लाहका आधारमा प्रमुख जिल्ला अधिकारी र जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले पुनःनिर्माण गर्नुपर्ने ठहर गरेको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई यो बस्ती विकासका लागि अनुरोध गरेको पौडेलले बताउनुभयो । केन्द्र र प्रदेशको आशा गर्दा स्थानीय तहले गर्न सकिने काम पनि भएका छैनन् भने बस्ती विस्थापित हुनेक्रम बढेको छ ।

ढोरपाटन नगरपालिकाको भुजी खोला छेउको बस्ती गत भदौ १७ गतेको बाढीपहिरो आउनु पूर्व छिरलिएको बजार जस्तै थियो । वर्षामा खेतीपातीका लागि लेक (ढोरपाटन शिकार आरक्ष क्षेत्र) जाने स्थानीय हिउँदमा बेँसी (बोबाङ, भुजीखोला छेउछाउ) आउँथे । चिसो छल्न आएकाहरुले गाउँ भरिने भएकाले कहिले आउला हिउँद भनेर वर्षाको समयमा समेत तल गाउँका बासिन्दाले कुरिरहेका हुन्थे । अहिले हिउँद आयो तर लेक पुगेका फर्किए तर तल बेँसीमा बसेका नै छैनन् ।

गत भदौ १७ गते बाढीपहिरोले सिङ्गोबस्ती बगाएपछि गाउँ अझै शोकमा छन् । भुजीखोलाको बाढीपहिरोले किनारको १२६ घर बगेका थिए । घटनामा २२ जनाको मृत्यु भएको थियो भने अझै १५ जना हराएका छन् । कतिपयले आंशिक क्षति भएका घर मर्मत गरेर बसेका छन् । मर्मत गरेपनि वर्षातमा फेरि जोखिम हुने खतरा पनि देखिन्छ । पूर्ण क्षति भएका पीडित भने कता बस्ने भन्ने यकिन गर्न सकेका छैनन् । आफ्नै जमीन भएकाले घर बनाउने योजना बनाएका छन् । कतिपयको जमीन छैन । त्यसैले अर्काको बारीमा छाप्रो बनाएर बसेका छन्् ।

दिगो बस्तीका लागि के गर्ने भन्ने अझै अन्योल भएको पीडित हुमबहादुर विकले बताउनुभयो ।बाढी पहिरो गएपछि तत्काल उद्वार र राहतका लागि पुग्नुभएका गृहमन्त्री रामबहादुर थापासहितका मन्त्री र नेताहरुले ढोरपाटनमा बस्ती बसाल्ने घोषणा गर्नुभयो । बाढीपहिरोले उजाडिएको बस्ती एकीकृत बासको आशमा बसेको पनि झण्डै छ महिना पुग्न आँट्यो । त्यतिबेला बोबाङ पुग्नेहरु कतिपयले एकीकृत बस्तीको कुरा गरे भने कतिपयले पीडितको जग्गा जता छ त्यतै बस्ती बसाल्ने योजना सुनाए । त्यो घोषणाको छ महिना पुग्नैलाग्दा ढोरपाटनका पीडित भने चिसो भुइमै बस्न बाध्य छन् ।

घर बनाउने ठेगान नभएपछि छाप्रो बनाएर बस्न बाध्य छन् । आश्वासन दिएकाहरुले भने अझै घर बनाउन सहयोग समेत गरेका छैनन् । पहिरो लगत्तै धेरै दाता र सहयोगीबाट खाद्यान्न र लत्ता कपडा सहयोग पाएका उनीहरुले दिगो बसाइका लागि भने अनुदान पाउन सकेका छैनन् । पटक पटक पीडित भेट्न गएका मन्त्रीहरुले बस्ती बसाल्ने घोषणा गरेका थिए तर अहिलेसम्म बस्ती बसाल्ने विषयमा ठोस पहल नभएको स्थानीयले गुनासो गरे । ‘‘सहयोग त धेरैले गर्ने सुनाए, अहिलेसम्म सहयोग गर्ने गरी कोही आएको छैन, सरकारी तहको सहयोग पनि अझै आइसकेको छैन’’ वडा अध्यक्ष हरिबहादुर घर्तीमगरले भन्नुभयोे, ‘‘अहिलेको चिसोमा उनीहरुले न्यानो गरी बस्न नपाएकोले धेरैलाइ विश्वास पनि छैन ।’’ पीडित अहिले पनि जाडो खेपेर छाप्रोमा बस्न बाध्य भएका छन् ।

पहिरो पीडितलाई सहयोग गर्न जिल्लाबाटै निर्वाचित सांसदहरु समेत अगाडि नदेखिएको गुनासो पीडितले गरे । पहिरो खसेको एकदुइ दिनमै नगरप्रमुख देवकुमार नेपालीले पनि घर बनाइदिने घोषणा गर्नुभएको थियो । गृहमन्त्री थापासँगै पुग्नुभएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख समेतले एकीकृत बस्तीको कुरा पनि सुनाउनुभयो । अहिले नगर प्रमुख नेपालीले नगरको मात्र एकल रकम नभइ सङ्घ र प्रदेशबाट आउने सहयोग नपाएर काम गर्न नसकेको बताउनुभएको छ । ‘‘माथिको बजेट आएको छैन, त्यसैले दिगो घर बनाउने योजना शुरु गर्न सकिएको छैन’’ नेपालीले भन्नुभयो, ‘‘यो वर्ष काम थालेर पीडितलाई बस्ने व्यवस्थापन गर्छौं ।’’ पीडित भने चिसोमा भुइमै छन् र झरी पर्दा छाप्रोको अवस्था के होला भन्ने अन्यौलमै छन् ।

भदौ २८ र २९ गतेको अबिरल बर्षाले जिल्लाको दक्षिणमा बितण्डा मच्चायो । जैमिनी नगरपालिकाको वडा नं १ र ५ मा तीन जनाको ज्यान लियो । दर्जनौं घर परिवार बिस्थापित भए । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा भदौ २९ गतेको पहिरोमा घर पुरीँदा ज्यान गुमाउनुभएका हरीकृष्ण पौडेलको परिवार अहिले पनि आफन्तको शरणमा छन् । दाताहरु र सरकारले दिएको नगद सहयोगले छाक टरेको छ तर बास बन्ने बाटो छैन । सोही ठाउँमा २८ गतेको पहिरोले घर पुरीँदा मृत्यु भएकी लक्ष्मी पौडेलको परिवार उहाँका छोरा देवराजको ससुराली गाउँमा छ । ‘‘गाउँमा धेरै बिस्थापित भए पहिरोपछि मैले पनि आमा बुबालाई त्यहाँ बस्न दिईन’’ स्थानीय सुरेन्द्र पौडेल भन्छन् ‘‘हिउँद त जसोतसो कट्ला अर्को बर्षा के गरेर कटाउनु ?’’ जिल्लामा भएका यी प्रतिनिधि घटना मात्रै हुन ।

साउन यता जिल्लाभर पाँच सय ९० घर बिस्थापित भएका छन् । बाढीपहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाको प्रक्रिया शुरु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको पुस २६ गते बसेको बैठकले कार्यविधि स्वीकृत गरेपछि राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्रिया थालेको हो । कार्यविधिले भूकम्प पीडितहरुले पाएको अनुदान जस्तै बाढीपहिरो पीडितहरुका लागि पनि निजी आवास पुनर्निर्माणका लागि अनुदान दिने व्यवस्था गरेको छ । बाढीपहिरोका कारण घरबास गुमाएका परिवारका लागि आवास पुनर्निर्माण गर्न तीन किस्तामा अनुदान दिने कार्यविधिमा उल्लेख रहेको प्राधिकरणका प्रवक्ता जनार्जन गौतमले बताउनुभयो ।

निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले रु चार लाख अनुदान प्रति परिवार उपलव्ध गराउने छ । हिमाली जिल्लाको हकमा रु पाँच लाख र तराइका जिल्लाको हकमा रु तीन लाख अनुदान दिने व्यवस्था गरिएको छ । एकाघर परिवारका सदस्यहरुको देशभर कहिँकतै जग्गा नभएको, बाढीपहिरोका कारण पुनः घर बनाउनै नसक्नेगरी जग्गा मासिएको परिवारले बढीमा थप रु तीन लाख अनुदान जग्गा खरिदका लागि पाउने व्यवस्था छ । प्राधिकरणले तयार पारेको कार्यविधि गृहमन्त्री अध्यक्ष रहेको कार्यकारी समितिबाट स्वीकृत भएसँगै विश्व बैंकको सहयोगमा पुनर्निर्माण र पुनस्र्थापनाको काम थालिने गौतमले बताउनुभयो ।

‘‘देशको कुनै भूभाग वा देश नै सङ्कटग्रस्त घोषणा भएको खण्डमा विश्व बैंकको क्याच डिडिओ फण्ट (५० मिलियन) सहयोग हुन्छ’’ गौतमले भन्नुभयो ‘‘बागलुङ र सिन्धुपाल्चोक बिपदग्रस्त घोषणा भएको अवस्थामा विश्व बैंकको सहयोगमा पुनर्निर्माणको काम हुनेछ ।’’ यस वर्षको जेठ ३० गते यता बाढीपहिरोका कारण पीडित बनेका बास्तविक सबै पीडितले अनुदान पाउने गौतमले बताउनुभयो । पीडितले बनाउने घरको नमुना समेत प्राधिकरणले सार्वजनिक गरेको छ । प्राधिकरणले स्थानीय तहको परिचालन र अनुगमनपछि पुनर्निर्माणको काम थाल्ने भएको हो ।

‘‘अनुदान रकम लाभग्राहीको खातामा जान्छ, पुनर्निर्माणको अनुगमन र नियमन स्थानीय तहले गर्ने विधि छ’’ गौतमले भन्नुभयो ‘‘स्थानीय तहको सिफारिशका आधारमा लाभग्राहीले किस्तामा अनुदान पाउँछन् ।’’ पीडितको लगत सङ्कलन र वास्तविक लाभग्राही पहिचानको जिम्मेबारी भने जिल्ला बिपद् व्यवस्थापन समितिले पाएको छ । बागलुङमा स्थानीय तहहरुले उपलव्ध गराएको तथ्याङ्क अनुसार पाँच सय ९० घर परिवार बिस्थापित भएका छन् । प्राधिकरणमार्फत् घर निर्माण नगरी नहुने लाभग्राहीको सूची पुन अध्यावधिक गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनुभयो । बागलुङमा सबैभन्दा धेरै भदौ १७, २८ र २९ गतेको बाढी पहिरोका कारण बिस्थापित भएकाहरुको तथ्याङ्क छ ।

जिल्लाको ढोरपाटन नगरपालिका बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको थियो । सरकारले बिपदग्रस्त जिल्ला घोषणा गरेकाले सङ्घीय सरकारको सहयताको आशाले यहाँका स्थानीय तहले बिस्थापितको व्यवस्थापन र पुनर्निर्माणमा ध्यान पु¥याएका थिएनन् । प्राधिकरणले काम थालेपछि पीडितहरुमा आशा पलाएको छ ।