११ बैशाख २०८१, मंगलवार

ओली-प्रचण्ड छलफलका सकारात्मक एजेन्डा

oli prachanda
फाइल फोटो

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)कार्यदल बनाएर पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउन सहमत भएका छन् । नौ दिनपछि दुई अध्यक्षबीच भएको छलफलमा कार्यदल बनाउने प्रस्तावमा सहमतिनजिक पुगेको ओली र दाहाल निकट नेताहरुको दाबी छ ।

ओलीसँगको छलफलबारे दाहालले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई बिहीबार जानकारी गराएका छन् । तर, छलफलका विषयमा सहमति हुन बाँकी रहेको दाहालको भनाइ छ ।

यसबाहेक आफ्नो समूहका प्रदेश ५ का केन्द्रीय सदस्यहरुको भेलामा पनि दाहालले ओलीसँगको पछिल्लो संवादबारे ब्रिफिङ गरेका थिए । तर, केन्द्रीय सदस्यसँग यसबारे दाहालले सबै कुरा नराखेको एक केन्द्रीय सदस्यले बताए ।

छलफलमा दुई पदबाट नहट्ने गरी ओलीको तर्फबाट प्रस्ताव पेस भएको थियो । जसअनुसार पहिलो अध्यक्ष ओली नै रहने, तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने रहेको छ । यस बाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने प्रस्ताव आएको दाहालले नेताहरुलाई जानकारी गराएका छन् ।

तर, कार्यदल ओलीको तर्फबाट पेस भएको प्रस्तावको सीमाभित्र छलफल गर्ने गरी नभई स्वतन्त्र ढंगले छलफल गरेर प्रस्ताव तयार गर्ने अधिकार दिने गरी सहमति नजिक पुगेको दाहालले ब्रिफिङ गरेको एक नेताले जानकारी दिए ।

उक्त प्रस्तावमा सहमति भने भइनसकेको दाहालले सुनाएका थिए । तर, ओलीसँगको छलफलको विषयबस्तु प्रस्ट नराखेको भन्दै वरिष्ठ नेता खनाल, नेपाल र श्रेष्ठले भने आंशका व्यक्त गरेका छन् ।

दुई अध्यक्षबीचको संवादपूर्व महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि गृहकार्य र शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

यस्तै, ओली र दाहालबीच चाँडै नै स्थायी कमिटी बैठक बसाल्ने विषयमा पनि छलफल सकारात्मक भएको छ ।