१३ बैशाख २०८१, बिहीबार

तीन दिनदेखि बेपत्ता कान्तिपुरका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला

balaram baniya

तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए।

उनलाई अन्तिम पटक बल्खुचोकमा देखिएको प्रहरीले जनाएको छ ।सोमबारदेखि बेपत्ता बानियाँको शव आज सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए।

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।

‘उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको थियो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पुर्‍याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको थियो । बानियाँ खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरे पनि तिव्र वहाबले गर्दा उद्धार हुन नसकेको स्थानीयले बताएका छन ।

तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् । केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।