६ बैशाख २०८१, बिहीबार

‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’ का लागि कोष स्थापना

balaram baniya

प्रेस युनियन तनहुँले स्वर्गीय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता अक्षय कोष स्थापना गरेको छ ।

तनहुँको भानु नगरपालिका–१३ निवासी बानियाँको स्मृतिमा प्रेस युनियनले पत्रकारिता अक्षय कोष स्थापना गरेको हो । कोषका लागि बानियाँका दाजु भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले रु २० हजार सहयोग गर्नुभएको छ । उक्त रकम बानियाँले प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई आज हस्तान्तरण गर्नुभयो ।

वडाध्यक्ष बानियाँले स्व बलरामले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षय कोष निर्माण कार्यको शुरुआत गरेकामा प्रेस युनियन तनहुँलाई धन्यवाद ज्ञापन गर्नुभयो । अक्षय कोषका लागि परिवारकै तर्फबाट साथ, सहयोग, हौसला र रकम प्रदान गरेकामा युनियनका अध्यक्ष नहर्कीले आभार व्यक्त गर्नुभयो ।

पत्रकारिता अक्षय कोषको ब्याजबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कार प्रदान गरिने नहर्कीले जानकारी दिनुभयो । अक्षय कोषका लागि परिवारजनको सल्लाहअनुसार युनियनका अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षय कोष निर्माण समिति गठन गरिएको छ ।

समितिको सदस्यमा बाबुराम खनाल र स्व बलराम बानियाँका दाजु क्या जगतबहादुर बानियाँ रहनुभएको छ । पत्रकार बलराम बानियाँको परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट सङ्कलन गरी अक्षय कोषमा रकम जम्मा गरिनेछ ।

कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको गत साउन २६ गते निधन भएको थियो ।