१५ चैत्र २०८०, बिहीबार

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

ciaa

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो।

गत आइतबार ३३१ जनामा गरिएको परीक्षणमा एक जना उच्चतहका पदाधिकारीमा कोरोना संक्रमण देखिएको हो। त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्।

अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। आइतबार अघि दुईपटक भएको स्वाब परीक्षणमा एकपटक १६ जनामा संक्रमण देखिएको थियो भने अर्कोपटकमा २५ जनामा संक्रमण देखिएको थियो।

उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।