६ जेष्ठ २०८१, आईतवार

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनासहित ६ जनाको निधन

MC Dhambojhi
सांकेतिक तस्विर

काठमाडौं र सर्लाहीमा एक-एक जना र पर्सा र मोरङमा दुई–दुईजनाको निधन भए सँगै बुधबार एकै दिन ६ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

मोरङ

मोरङका दुवै मृतक को उमेर ४५ वर्ष रहेको थियो भने उनिहरुको निधन पश्चात मात्र कोरोना पुष्टी भएको थियो । उनीहरु दुवैको निधन कोसी अस्पतालमा भएको हो । मृतक एक जना रंगेली र अर्का विराटनगर महानगरपालिका-९ निवासी हुन्।

मृतक मध्य मोरङ रंगेलीका पुरूषको अस्पताल ल्याउँदा बाटोमै निधन भएको थियो। परिवारले जनाए अनुसार उनमा श्वासप्रश्वासको समस्या थियो । त्यसपछी उनको कोरोना परीक्षण गरिएकोमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै अर्का पुरुषमा पनि श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। शुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो।

पर्सा

पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । निधन हुनेमा वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवती रहेका छन ।

मधुमेहका बिरामी ४६ बर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई साउन २० गते राति अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा उनमा खोकी र ज्वरो थियो । उपचारको क्रममा उनलाई अक्सिजन दिइएको भए पनि स्वास्थ्यमा सुधार नभएपछी विहान निधन भएको थियो ।

पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा पनि निधन पछी कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडावान्ता भएपछि सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।

काठमाडौं

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत थियो ।

सप्तरी

यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुष करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएर होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकोमा उनको बाटोमै निधन भएको थियो। निधन पछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।