१७ बैशाख २०८१, सोमबार

“लकडाउन गर्ने-नगर्नेबारे नेतालाई थाहा हुन्न, विज्ञलाई सोधौं”: शेरबहादुर देउवा

deuba

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने वा नगर्नेबारे प्रधानमन्त्रीले डाक्टर तथा विज्ञसँग छलफल गर्नुपर्ने बताएका छन्।

छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।

कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेका बेला मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठक सकेर निस्केका सभापति देउवाले पत्रकारहरूसँग कुराकानी गर्दै लकडाउनको आवश्यकता छ वा छैन भन्नेबारे नेतालाई थाहा नहुने बताएका हुन्।

छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाले भने । उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु, केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ ।

‘लकडाउन खोलेर बिग्रेको हो,’ कोरोना संक्रमित वृद्धि भइरहेकोतर्फ संकेत गर्दै देउवाले भने, ‘पोलिटिसियनलाई बोलाएर छलफल गरेर के काम? लकडाउन गर्ने/नगर्नेबारे डाक्टर र विज्ञसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्छ। विज्ञसँग छलफल गर्नुस् उनीहरूलाई थाहा हुन्छ भनेको छु।’

पिसिआरको दायरा वृद्धि गर्न आफूले माग गरेको पनि देउवाले बताए। ‘पिसिआरको दायरा बढाउनुपर्छ भनेर पहिलेदेखिनै भन्दै आएको हुँ। पिसिआर यति भयो उति भयो भन्छन् तर खोइ बढाएको?’ उनले प्रश्न गरे।