७ बैशाख २०८१, शुक्रबार

पर्सामा सांसद प्रदीप यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

PradipYadav

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षक सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सांसद यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालमा गरिएको नमुना परीक्षणमा सांसद यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसको पुष्टि यादवले शुक्रबार राति आफ्नो फेसबुक पेजमार्फत समेत गरेका छन् ।

वीरगञ्ज–१३ राधेमाई बस्ने ४० वर्षीय सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् ।

उनले  आफ्नो  फेसबुक पेजमा लेखेका छन्, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसेर आराम गरिरहेको छु । कोरोना मुक्त भएर मेरो प्राण भन्दा प्यारो जनताको सेवामा चाँडै फर्कने छु ।’

रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र ३ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख उपाध्यायले बताए । संक्रमित हुनेहरुमा १५ वर्ष देखि ६८ वर्षसम्मका छन्।  शुक्रबार राति संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन्। यो संगै पर्सामा हालसम्म ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीवार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो । यसको पुष्टि मेयर सरावगीले आफ्नो फेसबुक पेजमार्फत गरेका थिए ।

वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।

नारायणी बयोधा अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा वीरगञ्ज–१६ नगवा बस्ने ६८ र ५० वर्षीया महिला, एपोलो अर्थोमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ५१ र ४२ वर्षीय पुरुष, सिर्सिया सुख्खा बन्दरगाहमा कार्यरत एक संक्रमित र आदर्शनगरका एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका क्रमशः १५ वर्षीय किशोर र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आफैं पीसीआर परीक्षण गराउन आएका वीरगञ्ज–१६ नगवाका ३३ वर्ष, महाविरस्थानका ४२ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्लीका २५ र ४३ वर्षका पुरुष, वीरगञ्ज–२३ सबैठवाका २३ वर्षीय पुरुष, पर्सागढी नगरपालिका–४ का २३ वर्षका पुरुष, पकाहामैनपुर गाउँपलिकाका ३० वर्षका पुरुष, परवानीपुरका ५५ वर्षका पुरुष, रौतहटको जयनगरका २५ वर्षका पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण छ ।