१५ बैशाख २०८१, शनिबार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ को निधन

chitwan corona death 2
सांकेतिक तस्विर

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ को निधन भएको छ ।

कोरोनाको कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि ३५ वर्षीय युवकलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएकोमा स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै बुधबार राति सुतेका ७० वर्षीय वृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए। प्रहरीले ढोका फोरेर कोठामा पस्दा ती वृद्ध मृत अवस्थामा भेटिएका थिए। मृतक वृद्धको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको छ।

यस्तै, गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ ।

उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो भने संक्रमण पुष्टि भएपछि गत साउन ७ गते कोरोना अस्पताल भर्ना भएका थिए । बिहीबार शरीरमा अक्सिजन कम भएपछि उनलाईइ भेन्टिलेटरमा राखिएकोमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । उनी भारतीय नागरिक हुन् ।