१४ बैशाख २०८१, शुक्रबार

वीरगन्जका मेयर सरावगीलाई कोरोना संक्रमण

bijaya sarabagi 1

वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

मेयर विजय सरावगीलाई ज्वरो आएपछि उपचारका लागि काठमाडौँ आएका थिए। परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनी सोमबार काठमाडौँ आएका थिए।

स्टार हस्पिटलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बिहीबार रिपोर्ट आएको थियो। हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीका अनुसार, उनी चार दिनअघि काठमाडौं आएका थिए। बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो। ‘उहाँले काठमाडौंमै परीक्षण गर्नुभएको हो,’ दुवेदीले भने, ‘उहाँ अहिले काठमाडौंस्थित आफ्नै निवासमा हुनुहुन्छ। अहिले उहाँको अवस्था सामान्य छ।’

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन्।

‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्।

सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्। उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

उनले वीरगन्जमा संक्रमण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।

उनको स्टाटस जस्ताको तस्तै

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु।
विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे। संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ।

वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ। क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाएँ। वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ। तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै काेराेनालाई जित्ने छु।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु।

अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु। साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन। मैले कोरोना संक्रमणको लडाई जितेर पुन: तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु।

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव…

Posted by Vijay Kumar Sarawagi on Thursday, July 30, 2020