८ मंसिर २०८२, आईतवार

बिरामी छोरा भेट्न १८ सय किलोमिटर दुरी स्कुटरमै पार

250720113932AM

आमालाई आफ्नो सन्तानको माया नाप्ने कुनै मेसिन हुँदैन। सन्तानका लागि आमाहरू जस्तोसुकै परिस्थिति पनि सामना गर्न तयार हुन्छन्। यस्तै एक आमा हुन् भारत, मुम्बई सहरकी २६ वर्षीय सोनिया दास।

सोनिया काम सिलसिलामा मुम्बई बसोबास गर्छिन्। उनको परिवार मुम्बईबाट करिब १ हजार ८ सय किलोमिटर टाढा जम्सेदपुर बस्छन्। कोरोना भाइरस महामारीका कारण सोनियाले आफ्नो जागिर गुमाइन्। भाडा तिर्न नसकेपछि बस्दै आएको घर पनि खाली गर्नुपर्‍यो। तर पनि उनी घर जान सकिनन्।

जब उनका ५ वर्षे छोरा बिरामी भन्ने खबर पाइन् उनी यसै बस्न सकिनन्। सोनियाले बिरामी छोरा भेट्न १८ सय किलोमिटर लामो यात्रा स्कुटरमै पार गरिन्।

भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ले जनाए अनुसार सोनिया र उनका साथी सबिया बानु पुणेदेखि जम्सेदपुर स्कुटरमै पुगेका हुन्। उनीहरूले यो दुरी ५ दिन लगाएर पार गरे।

भाडा तिर्न नसकेर घरबाट निकालिएकी सोनिया पुणेमा साथी साबियासँगै बसोबास गर्दै आइरहेकी थिइन्।

मसँग पैसा थिएन। खानेकुरा थिएन। जागिर थिएन अनि बस्न कोठा पनि थिएन। त्यसैले म सबियासँग बस्न पुणे सरेँ, सोनियाका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

Sonia Das Sabia Bano

पुणेमा सबियासँग बस्दै गरेकी उनले छोरा बिरामी परेको खबर पाएकी थिइन्। खबरले उनी आत्तिइन्। आफू पुग्ने सम्भावना नदेखेपछि उनले झारखण्ड सरकारलाई ट्विटरमार्फत मद्दतका लागि अनुरोध गरिन्। तर त्यहाँबाट कुनै प्रतिक्रिया आएन।

पुणे र जम्सेदपुरबीच रेल चल्दैन। हवाइ जहाजमार्फत जान आर्थिक हैसियतले नभ्याउने। अनि त सोनियाले छोरा भेट्न स्कुटरबाटै जम्सेदपुर जाने निर्णय लिइन्।

मैले झारखण्डको मुख्यमन्त्री हेमन्त सोरेनलाई ट्विट गरेकी थिएँ। महाराष्ट्र र झारखण्ड सरकारको हेल्पलाइनमा पनि सम्पर्क गर्न खोजेँ। तर केहीले काम गरेन। अभिनेता सोनु सूद सरलाई पनि ट्विट गरेँ। तर उहाँबाट पनि कुनै प्रतिक्रिया पाइनँ। अन्ततः मैले स्कुटरमै जुलाई २० गते जम्सेदपुर फर्कने निर्णय लिएँ, सोनियाले हिन्दुस्तान टाइम्सलाई भनिन्।

अभिनेता सोनु सूदले पछिल्लो समय कोरोना र लकडाउनका कारण समस्यामा परेका केही व्यक्तिलाई सहयोग गरेका भएर सोनियाले पनि आश गरेकी थिइन्।

केही नलागेपछि सोनिया र साथी साबिया गत सोमबार मुम्बई हुँदै हिँडे र शुक्रबार जम्सेदपुर पुगे।

जम्सेदपुर पुगे पनि सोनियाले छोरासँग बस्न भने पाइनन्। उनीहरू पहिले क्वारेन्टाइन सेन्टर जानुपर्ने थियो। क्वारेन्टाइन पुग्नुअघि सोनियाले सुरक्षित दुरीबाट छोरा र परिवारलाई भेटिन्।

आइपिएस अफिसर अरविन्द कुमारले टाइम्स अफ इन्डियालाई बताएअनुसार सोनिया र सबिया दुवैको कोरोना परीक्षण गरिएको छ र नतिजा नकारात्मक आएको छ।

अहिले उनीहरूलाई घरमै क्वारेन्टाइन बस्न निर्देशन दिइएको छ। एजेन्सी