१३ बैशाख २०८१, बिहीबार

विद्युत प्राधिकरणका तीन सय १६ ग्राहक कालोसूचीमा, नेपालभर जहाँ बसेपनि असुली गरिने

nea bharatpur

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा लामो समयसम्म बक्यौता नतिर्ने ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ।

कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट १६ लाख २३ हजार १८८ रुपैयाँ र पहिलो चरणका २७० ग्राहकबाट ७२ लाख ५५ हजार ५२४ रुपैयाँ बक्यौता उठाउनुपर्ने हुन्छ। महतोले कालोसूचीमा रहेका मध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन्। उनीहरुबाट सात लाख ९२ हजार २४४ रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ।

कालोसूचीमा परेका ग्राहक नेपालको जुनसुकै स्थानमा बसे पनि उनीहरुको लाइन काट्ने र असुली हुने बताँउछन कार्यालय प्रमुख महतो । बैंक वित्तीय संस्थालाई कालोसूचीमा परेका ग्राहकको विवरण दिएर सेवा रोक्ने लगायतका कामको प्रक्रिया शुरु गरिएको महतोले बताए।

कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ। उनीहरुबाट दुई करोड ७९ लाख ५३ हजार ४३५ रुपैयाँ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट तीन करोड दुई लाख ३३ हजार १५८ रुपैयाँ असुली भएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन्। उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ।