१५ चैत्र २०८०, बिहीबार

प्रहरी मुख्यालयमा ३१ कोरोना संक्रमित, स्याङ्जामा एसपीसहित ३८ संक्रमित

corona nepal police

नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको प्रहरी प्रवक्ता (डिआइजी) निरज शाहीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

प्राय: संक्रमित सवारी शाखाका छन् । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा कार्यरत ३५ प्रहरीमा कोरोना संक्रमण देखिएपछि मुख्यालयकै प्रहरी त्रसित बनेका छन ।

प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वाव संकलन गरेर पठाइएका केही प्रहरीको रिपोर्ट आउन बाँकी छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया जारी राखेको छ । यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

संक्रमितको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिमा राखिएको छ ।

स्याङ्जामा एसपीसहित ३८ जना प्रहरी कोरोना संक्रमित

जिल्ला प्रहरी कार्यालय स्याङ्जा कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ। कार्यालय प्रमुख एसपीसहित हालसम्म ३८ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार एक महिलासहित १६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको डिएसपी अधिकारीले जानकारी दिए। त्यस्तै, एक प्रहरी कर्मचारीको २८ महिनाको बच्चामा समेत कोरोना पोजेटिभ देखिएको छ।

प्रहरी कर्मचारी, बच्चा र थुनुवासहित मंगलबार मात्र स्याङ्जा प्रहरी कार्यालयमा १८ जना कोरोना संक्रमित थपिएको डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो। उनीहरूलाई सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गर्न स्वाब पोखरा पठाइएपछि रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर सबै प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पोखरा पठाइएको थियो। जसमा सोमबार मात्र स्याङ्जा प्रहरी प्रमुख एसपीसहित १८ जनामा संक्रमण भेटिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ७ बजे विज्ञप्ती जारी गरी स्याङ्जा प्रहरीका २० जना सहित ३१ जना नया संक्रमित भेटिएको पुष्टि गरेको छ।

त्यसअनुसार स्याङ्जाकै वालिङ नगरपालिकामा १ जना, अर्जुनचौपारीमा ४ जना, बाग्लुङको निसीलामा ५ जना र बरेङमा १ जना नयाँ संक्रमित भेटिएका हुन्।

सबभन्दा धेरै संक्रमित भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अझै संक्रमित संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको र केहीको अझै परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ।