१९ बैशाख २०८१, बुधबार

बामदेव गौतमको ६ बुँदे प्रस्तावले नेकपाभित्र नयाँ तरंग, पार्टीको विवाद मिलाउन प्रस्ताव

bamdev gautam

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका हुन् ।

जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् । 

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ । 

गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । गौतमको यो प्रस्तावपछि नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

गौतम यसअघि प्रचण्ड-माधवकुमार नेपाल समूहमा रहेको विश्वास गरिएको थियो ।

उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न पनि प्रस्ताव गरेका छन् ।

पार्टी बैठकहरू पनि पार्टी केन्द्रीय कार्यालयमै बस्नुपर्ने उनको प्रस्ताव छ ।​

हेर्नुहोस्, वामदेवको ६ बुँदे प्रस्ताव :

bamdev gautam