८ बैशाख २०८१, शनिबार

गोरखामा पहिरोले नौलीखोला थुनिएपछि ठूलो ताल बन्यो

thumb

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला थुनिएको छ । पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ ।

लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । नौलीखोला गए राती आएको पहिरोका कारण थुनिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय वीर गुरुङले भने, ‘पानी बग्न नपाएर ताल बनिसक्यो ।’ मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको उनले बताए ।

1595646626

बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोला पहिरोले थुनिएको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए |

नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ । पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ । करिब ७० घरधुरी जोखिममा रहेको छन्।

thumb 1

माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । ‘थुनिएको पानी एकैसाथ खोलिए जोखिम हुनसक्छ,’ एसपी गुरुङले भने, ‘बाढीको सहत बढ्नसक्ने भएकाले सर्तक रहन सबैलाई आग्रह गरेको छौं ।’

अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको एसपी गुरुङको भनाइ छ ।

खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सर्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो जाँदा ठूलो ढुंगा खसेर खोलामा बसेछ, अनि पानीले निकास पाएन,’ उनले भने, ‘ताल झन्–झन् ठूलो हुँदै छ ।’

खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको उनले जानकारी दिए ।

naulikhola block