८ बैशाख २०८१, शनिबार

भूकम्प पीडितसँग घुस लिने इन्जिनियर र सव-इन्जिनियर पक्राउ

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले लमजुङबाट २ जना इञ्जिनियरलाई पक्राउ गरेको छ।

आयोगले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कार्यरत इञ्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टिकाप्रसाद गुरुङलाई अनुसन्धानका लागि पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

इञ्जिनियरद्वय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत लमजुङ जिल्ला आयोजना कार्यन्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मा करार सेवामा कार्यरत थिए।

इन्जिनियर मण्डल र असिस्टेन्ट सव–इन्जिनियर गुरुङले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा जनही ५० हजारका दरले घुस माग गरी चार लाख रुपैयाँ लिएको अख्तियारले जनाएको छ।

भूकम्प पीडितसँग घुस लिएको भन्दै ३ जनाविरुद्ध उजुरी प्राप्त भएपनि अर्का आरोपी इञ्जीनियर राजकुमार गौतम भने घटनास्थलमा नभएको र घुस लिनुअघि नै घर गएकाले पक्राउ नगरेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

विशेष सूचना तथा उजुरीको आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा निजहरुलाई बेशीशहर बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्राधिकरणमा कार्यरत तीनै जनालाई घुस लिएको आरोपमा उजुरी परेपछि बर्खास्त गरेको प्राधिकरणले जनाएको छ। घुस लिएको उजुरी दिन लागेको थाहा पाएपछि इञ्जिनियर टिकाप्रसाद गुरुङले पीडितलाई बाटोमै रोकेर रकम फिर्ता गरेका थिए।

मस्र्याङ्दी गाउँपालिका १ नायुँ गाउँका बुद्धिबहादुर गुरुङ, मनबहादुर गुरुङ, जीवन गुरुङ, हस्तबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, वाङ्गे विक, खेमबहादुर गुरुङ र रसीराम गुरुङ असार २९ गते भूकम्प पीडितले पाउने दोस्रो किस्ताको रकम निकाल्न सदरमुकाम बेसीशहर झरे।

भूकम्प पीडितले घर बनाउन पाउने दोस्रो किस्ता बापत उनीहरुले जनही १ लाख रुपैयाँ बैंकबाट निकाले। बैंकबाट पैसा निकाल्नै लाग्दा सोही गाउँका वडा अध्यक्ष रुद्रमान गुरुङले पैसा बुझेपछि इञ्जिनियरलाई भेट्न भने।

बैंकबाट पैसा बुझेपछि नजिकैको होटलमा बसेका इञ्जिनियर टिकाप्रसाद गुरुङलाई भेट्न पीडित ८ जना नै गए। इञ्जिनियरले सबैलाई छुट्टा–छुट्टै पालैपालो भेटे।

तपाईंहरूले बनाएकाे घर मापदण्ड अनुसार नभएको भन्दै इञ्जिनियर टिकाप्रसादले गाउँपालिकालाई पैसा फिर्ता गर्नुपर्छ भने। ८ जनासँग ५० हजारका दरले मागे, पीडितहरुले दिए।

vukampa pidit in cdo office
लमजुङ नायुँ गाउँका भुकम्प पीडित प्रशासनमा उजुरी दिँदै।

रकम फिर्ता गरेपछि भूकम्प पीडितले इञ्जिनियर टिकाप्रसादसँग पैसा फिर्ता गरिदिएको प्रमाण मागे, तर उनले दिएनन्। उल्टै यो कुरा कसैलाई नभन्नु भनेर गाउँलेलाई फर्काइदिए।

गाउँलेहरु बेसीशहरबाट गाउँ फर्के, गाउँमा अरुसँग पनि यसबारे बताए। त्यसपछि गत आइतबार मात्र उनीहरु मार्फत इञ्जिनियरले घुस लिएको थाहा पाएर उजुरी गर्न फेरि सदरमुकाम बेसीशहर झरे।

उजुरी दिन जाँदै गरेको थाहा पाएपछि इञ्जिनियर टिकाप्रसादले बाटैमा रोकेर पीडितको ४ लाख रुपैयाँ फिर्ता दिँदै गाउँ फर्कन भनेका थिए। तर गाउँलेहरु रोकिएनन्, जिल्ला प्रशासन कार्यालयमा घुस लिएको भन्दै उजुरी दिए।

उनीहरुले उजुरीमा यसबारे सबैकुरा खुलाएको लमजुङ प्रशासनले जनाएको छ। लमजुङका सिडिओ शर्माले पीडित गाउँले र इञ्जिनियर दुबैसँग सामान्य बयान लिएर थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको जिम्मा लगाएको बताएका छन्।