१६ चैत्र २०८०, शुक्रबार

१३ वर्षपछि समातिए भान्जाको अपहरण काण्डका योजनाकार

gupta MNuaARn4IS

प्रहरीले १३ वर्ष पहिले अपहरणपछि हत्या गरेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ ।

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ता छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनलाई सर्लाहीको मलंगवाबाट विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाका अनुसार अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए । 

लगत्तै अपरिचित व्यक्तिले फोन गरेर २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए । तर रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् । तीन दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिक सडकको पेटीमा प्लास्टिकको बोरामा पोको पारेको अवस्थामा शव भेटियो ।

अनुसन्धानमा क्रममा बालकको अपहरण तथा हत्या उनकै सहोदर मामा, गुप्ताको योजनामा भएको खुलेको थियो । धादिङको विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहाना गरी उनलाई अपहरण गरेको पाइएको एसएसपी थापाले बताए ।

अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएका थिए । 

थापाका अनुसार कोठामा बच्चा चिच्याउन लाग्दा रुमालले मुख थुनेर घुँडा समेत थिची बालकको हत्या गरेको पाइएको थियो । यो घटनापछि नै उनले बाबुसँग फिरौतीबापत रकम लिएको पाइएको थियो ।

एसपी ईश्वर कार्कीका अनुसार गुप्ताले नै परिवारको तर्फबाट थानकोट त्रिभुवन पार्कसम्म फिरौतीको रकम लगेका थिए । त्यहाँ अपरिचित व्यक्तिहरु ट्याक्सीमा आएर रकम लगेको भनेर उनले परिवारलाई झुक्याएका थिए ।

घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हाल कारागारमै रहेका छन् । 

उनी खोजतलासको बहानामा केही समय प्रहरी कार्यालयमा पनि गएका थिए । पछि उनी फरार भएका थिए । प्रहरीको निरन्तर निगरानी पश्चाम गुप्ता १३ वर्षपछि पक्राउ परेका छन् ।